
मतदाता किन घट्दैछन् ?
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२ हजार ३१३ जनाले मात्र मतदान गरेका थिए ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि जिल्लाका ५० प्रतिशतले मात्र मतदान गरेका थिए । दुईलाख २० हजार ६३७ जना मतदाता रहेको सो निर्वाचनमा जम्मा एकलाख १० हजार जनाले मात्र मतदान गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि ६५.३ प्रतिशत मतदाताले मतदान गरेका थिए । कूल दुईलाख २० हजार ६३७ मतदाता रहेको सो निर्वाचनमा एकलाख ४४ हजार जनाले मात्र मतदान गरेका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा भने सबैभन्दा धेरै ७७.५९ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो दर गोरखाको निर्वाचनको अहिलेसम्मकै सबैभन्दा धेरै हो । उक्त निर्वाचनका क्रममा जिल्लामा एकलाख ३८ हजार ६५७ मतदाता रहेका थिए । उनीहरु मध्य एकलाख ७ हजार ५७४ जनाले मतदान गरेका थिए ।
२०६४ मा भएको संविधान सभा निर्वाचनमा पनि गोरखाका जम्मा ६०.६ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए । एकलाख ३२ हजार मतदाता रहेको सो निर्वाचनमा ८० हजार जनाले मात्र मतदान गरेका थिए । २०५६ को निर्वाचनमा ६६.९५ प्रतिशत २०५१ र २०४८ सालको निर्वाचनमा पनि क्रमश ६१.३ र ६४.८ प्रतिशत मतदाताले मतदान गरेका थिए ।
सबै पार्टीका उम्मेद्वार, नेता, कार्यकर्ता प्रचार प्रसारमा गाउँबस्ती पुग्छन् । उनीहरु आफ्ना पार्टीलाई मतदान गर्न मात्र प्रचार गर्छन्, भोट हाल्न जान नचाहनेहरुलाई मतदानमा सरिक हुन भने प्रोत्साहित गर्दैनन् । निर्वाचन आयोग तथा निर्वाचन कार्यालयहरुले पनि धेरैभन्दा धेरै मतदानमा सहभागी हुन त्यति धेरै प्रचार प्रसार गरेको पाइँदैन । अबका दिनमा धेरै मतदाता बढाउन पनि पहल होओस् ।




