| मङ्लबार, चैत्र ९, २०८२

महोत्सवको गन्तव्य एकातिर, यात्रा अर्कातिर नहोओस्

ऐतिहासिक र पर्यटकीय जिल्ला गोरखामा विगत एक सातादेखि ‘गोरखा महोत्सव’ को रौनकता छाएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो भूमिका खेल्छ भन्ने विश्वास गरिन्छ । मूलतः स्थानीय उत्पादनको प्रदर्शनी, व्यापार प्रवद्र्धन, पर्यटन विकास र कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सुरु भएको यो महोत्सव आफैँमा एउटा सकारात्मक प्रयास हो ।

महोत्सवले गोरखाका मौलिक पहिचान बोकेका लोकगीत, लोकबाजा र लुकेर रहेका स्थानीय प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ । साथै, जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन वृद्धिमा यसले टेवा पु¥याउने विश्वास गर्न सकिन्छ । तर, महोत्सवका कार्यक्रम(इभेण्ट)हरु नियाल्दा यसको लक्ष्य र व्यवहार बीच कतै खाडल त देखिँदै छैन ? भन्ने प्रश्न पनि गम्भीर रूपमा उठेको छ ।

आजभोलि अधिकांश महोत्सवहरूमा स्थानीयपन भन्दा ‘मसालेदार’ बढी देखिन थालेको छ । गोरखा महोत्सव पनि यसबाट अछुतो रहन सकेको छैन । महोत्सवका स्टलहरूमा स्थानीय हस्तकला, अर्गानिक कृषि उपज र घरेलु उत्पादनको सट्टा बाहिरबाट आयातित सस्ता र गुणस्तरहीन सामानहरूको बर्चस्व देखिनु विडम्बनापूर्ण छ । यदि महोत्सवमा पनि बजारकै तयारी सामान पाइने हो भने स्थानीय उत्पादकले प्रोत्साहन पाउने ठाउँ कहाँ रहन्छ ?

अर्कोतर्फ, सांस्कृतिक कार्यक्रमको नाममा मोटो रकम खर्चेर ‘सेलिब्रेटी’ कलाकारहरूलाई मात्रै प्राथमिकता दिने परिपाटीले स्थानीय कलाकारहरू ओझेलमा परेका छन् । बाहिरी कलाकारले क्षणिक मनोरञ्जन त देलान्, तर गोरखाको आफ्नै माटोको सुगन्ध बोकेको मौलिक कला र संस्कृतिको संरक्षण तिनीहरूबाट सम्भव छैन । स्थानीय प्रतिभालाई उपेक्षा गरेर महोत्सवलाई केवल व्यापारिक ‘मेला’ मा सीमित गर्नु ‘गन्तव्य एकातिर, यात्रा अर्कातिर’ भनेजस्तै हो ।

अतः आयोजकले महोत्सवको मूल उद्देश्यलाई बिर्सनु हुँदैन । महोत्सव केवल नाफा कमाउने माध्यम मात्र नभई जिल्लाको समग्र पहिचान झल्काउने ऐना हुनुपर्छ । महोत्सवलाई अझै मर्यादित, व्यवस्थित र उद्देश्यमूलक बनाउनु आयोजकको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्