| शनिबार, असार १२, २०८३

एसईईको उत्कृष्ट नतिजाका लागि जनप्रतिनिधिको प्रसंसनीय पहल

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई विद्यालय शिक्षाको गुणस्तर मापन गर्ने मानक मानिन्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, विद्यालय, समाज र समग्र राष्ट्रकै शैक्षिक अवस्थालाई झल्काउँछ ।

सामुदायिक विद्यालयहरूको नतिजा सुधार गरी सार्वजनिक शिक्षामाथिको जनविश्वास बढाउनु आजको अत्यावश्यक कार्यभार हो । यो कार्यभार पूरा गर्नका लागि विद्यालय प्रशासन, शिक्षक र अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ, तर अब यसमा जनप्रतिनिधिहरूको सक्रिय नेतृत्व पनि अनिवार्य भइसकेको छ ।

सहिद लखन गाउँपालिका ७ को वडा कार्यालयले सहिद स्मृति माविको एसईई नतिजा सुधारका लागि गरेको विशेष पहलकदमी साँच्चै अनुकरणीय र प्रशंसनीय छ । सो कार्यालयले सो विद्यालयमा एसईईको तयारी गर्दै गरेका विद्यार्थीलाई छात्रवासमा राख्ने व्यवस्था मिलाएको छ । रसदपानी जुटाएको छ । स्टेशनरी सामग्री, झोला जुटाएको छ ।

वडा कार्यालयको यो कार्यले स्थानीय सरकार र जनप्रतिनिधिहरू केवल राजनीति, केवल पूर्वाधार विकास निर्माणका काममा मात्र नभई जनताको सबैभन्दा ठूलो सरोकारको विषय अर्थात् शिक्षाको गुणस्तर सुधार गर्न पनि उत्तिकै गम्भीर छन् भन्ने सन्देश दिएको छ ।

जनप्रतिनिधिले अझै स्थानीय अभिभावकहरुलाई आफ्ना बालबालिकालाई पढ्ने वातावरण बनाइदिन आग्रह गर्ने, अभिभावक र विद्यालय परिबारसँग अन्तरक्रिया गराउने काम गर्न सक्छ । त्यस्तै शिक्षा क्षेत्रमा आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न, योग्य शिक्षकको सुनिश्चितता गर्न, शैक्षिक कार्यक्रमको प्रभावकारी अनुगमन गर्न पनि भूमिका खेल्न सक्छ ।

सहिद लखन ७ को यस अग्रसरताबाट पाठ सिक्दै अब हरेक वडा, हरेक पालिका र हरेक स्थानीय सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयहरूको एसईई नतिजा सुधारलाई शून्य नतिजाबाट माथि उठाउने र उत्कृष्ट नतिजा ल्याउने संकल्पका साथ अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्