| सोमवार, अशोज २५, २०८३

नवयुवाहरु अब आन्दोलनबाट राष्ट्र निर्माणतर्फ

हालैका दिनहरूमा जब नेपालमा नवयुवाको प्रदर्शन, आन्दोलन हुदै बिद्रोहको डँडेलो सल्कियो, त्यसले नेपालमा रातारात राजनीतिक उलटपुलट पनि ग¥यो । विशेषगरी जेन–जीको राजनीतिक र सामाजिक चेतनाको स्तर र दुई दिनमै राजनीतिक क्रान्ति गर्न सक्ने सामथ्र्य देखेर आम नेपालीमा आशा जागेको छ ।

सडकमा उनीहरूको उपस्थिति, बुलन्द आवाज र डिजिटल प्लेटफर्महरूको सशक्त प्रयोगले पुरानो पुस्ताका लागि समेत प्रेरणा बनेको छ । उनीहरूले उठाएका मुद्दाहरू—भ्रष्टाचार, सुशासनको अभाव, र बेरोजगारी—वास्तवमै मुलुकका परिवर्तन नगरी नहुने ज्वलन्त समस्या हुन् । उनीहरूको यो आक्रोश र ऊर्जाले नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने सम्भावना छ ।

तर, विद्रोहपछि उनीहरु बीच देखिएको आन्तरिक द्वन्द्व, अपरिपक्कपन देखेर निराश हुने अबस्था पनि छ । कहीँ उनीहरुको आलोकाँचो पनले मुलुकलाई पुन दुर्घटना त गराउने होइन ? भन्ने शंका गर्ने ठाउँ बनेको छ । आन्दोलन क्षणिक उत्तेजना हुन सक्छ, तर दिगो परिवर्तनका लागि निरन्तर प्रयास र धैर्य चाहिन्छ, जुन उनीहरुमा कमी देखियो । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको यस आन्दोलनलाई रचनात्मक र परिणाममुखी दिशामा मोड्नु हो । सडकमा नारा लगाउनु मात्र समाधान होइन, अब जेन–जीले आन्दोलनबाट राष्ट्र निर्माणको यात्रा सुरु गर्नुपर्छ ।

युवाहरुले विरोध मात्र होइन, राजनीतिलाई नै शुद्धीकरण गर्ने अभियानमा लाग्नुपर्छ । योग्य र सक्षम युवाहरूले राजनीतिक दलमा प्रवेश गरी आन्तरिक सुधारका लागि दबाब दिन सक्छन् । समाजका विभिन्न क्षेत्रमा स्वयंसेवी रूपमा संलग्न भई शिक्षा, स्वास्थ्य, र वातावरण सुधार जस्ता कार्यमा योगदान पु¥याउन सकिन्छ । विरोधको ऊर्जालाई अब आफ्नो सीप विकास र उद्यमशीलतामा लगाउनु आवश्यक छ । जेन–जीको हातमा नेपालको भविष्य छ । उनीहरूको जोश र जागरलाई सही दिशामा मोड्न सके, यसले साँच्चै नै ‘नयाँ नेपाल’ को जग बसाल्न सक्छ । त्यसैले जेन–जी अब देश निर्माणमा लाग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्