| बुधबार, जेष्ठ १२, २०८३

हेपाटाइटिस बी को समस्या ‘भुसको आगो’

गोरखाका दुर्गम गाउँहरुमा हेपाटाइटिस बी संक्रमणको अबस्था भुसको आगो जस्तो छ । जसरी भुसको आगो बाहिर देखिँदैन, तर भित्रभित्र खरानी बनाइसकेको हुन्छ, त्यसैगरी दुर्गम गाउँहरुमा हेपाटाइटिसले भित्रभित्र धेरैलाई संक्रमित बनाइसकेको छ, तर बाहिर सबैजना सकुशल जस्ता देखिएका छन् ।

अहिले तत्काल यसको लक्षण नदेखिन सक्छ, तर यसले मृगौला खाइसकेको हुनसक्छ । अन्तिममा अबस्था जटिल भइसकेपछि मात्र थाहा हुन सक्छ । त्यतिबेला ढिला भइसकेको हुन्छ, पछुताउनु शिवाय अरु निरुपाय हुनसक्छ ।
हेपाटाइटिस रोग एचआईभी भन्दा १० गुना बढि संक्रामक छ । यो पनि यौन संपर्क, वीर्य, रगत, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ ।

यसको लक्षण बाहिर देखिँदैन । हेपाटाइटिस पहिचानका लागि परीक्षण शिविर पनि गरिएको छैन । एचआईभी, हेपाटाइटिस जस्ता रोगलाई समाजमा लुकाउने प्रचलन छ । समयमै पत्ता लगाएर रोकथाम गर्नुपर्ने हो, तर यहाँ शंकास्पद व्यक्तिहरु स्वयं चेकजाँच गराउन पनि जाँदैनन, बिभिन्न क्रममा परीक्षण गराउँदा पोजेटिभ देखियो भने पनि लुकाउने चलन छ, जुन घातक छ । कतिपयमा हेपाटाइटिस सी समेत देखिएको छ, जुन हेपाटाइटिस बी भन्दा पनि खतरनाक हुन्छ ।

दुर्गम भेगमा विशेषगरी गर्भवतीको नियमित स्वास्थ्य जाँचको क्रममा, वैदेशिक रोजगारीको क्रममा स्वास्थ्य चेकजाँचको क्रममा यस्ता समस्या पहिचान हुन्छन् । यसबारे स्थानीय स्वास्थ्य संस्थाले जिल्लास्थित स्वास्थ्य कार्यालयमा खबर गरिरहेका हुन्छन् ।
रोग पहिचान शिविर सञ्चालन र फैलन नदिन जनचेतना जगाउन जरुरी छ । रोग न्यूनिकरणका लागि स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

यस रोगको औषधि काठमाडांैमा पाइए पनि निकै महँगो पर्छ । बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटीस ‘बी’ विरुद्धको खोप नलगाए पनि यो रोगले संक्रमण गर्छ ।
यो गम्भीर खालको बिषय हो । जनचेतनाको अभावले दुर्गम गाउँहरुमा यस्तो समस्या धेरै देखिएको हो । परीक्षण गर्ने र जनचेतना जगाउने खालका कार्यक्रम गर्न सके राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्