
भूकम्प पीडितलाई रु ५० हजार सापटी
भूकम्पले भत्किएको घर पुनर्निर्माण गर्न नसक्ने समुदाय पहिचान गरी ५० हजार रुपैया सापटी दिने पालुङटार नगरपालिका कार्यालयले निर्णय गरेको छ । अतिबिपन्न, दलित, एकलमहिला, अल्पसंख्यक, मुस्लिम, सीमान्तकृत समुदाय, ज्येष्ठ नागरिक, अपाङ्ग लगायत का लक्षितवर्गलाई सापटीस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको सो नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।
‘भूकम्प पीडितलाई बिना ब्याज ५० हजार रुपैंया प्रदान गर्ने निर्णय भएको छ’, उनले भनिन्, ‘भूकम्प पीडितलाई सापटी स्वरुप सहयोग गर्न १४ लाख रुपियाँको घुम्ती कोष खडा गरिएको छ । यो सहयोग कार्यक्रम उपलब्धीमुलक भयो भने अर्को बर्ष थप गरिनेछ ।’ पहिलो किस्ता पाएका लक्षित समुदायलाई घर निर्माणको काम सुरु गर्न थप ५० हजार रुपियाँ दिने र जब दोस्रो किस्ता बापतको डेढलाख रुपैयाँ रकम पाउँछन्, अनि सो रकम फिर्ता लिने व्यबस्था छ ।’ नीजि आवास निर्माणको कामलाई तिब्रता दिन यस्तो निर्णय गरिएको उनले बताइन् ।
हालै सम्पन्न नगर कार्यपालिकाको बैठकले सो कार्यविधि पास गरिसकेको उपमेयर बसेलले जानकारी दिइन् ।
पालुङ्टारमा यस्तो सापटी रकम पाउनेको संख्या उल्लेख्य रहेको नगरपालिकाले जनाएको छ । कार्यविधि भर्खर पारित भएकाले अहिलेसम्म निर्णय कार्यान्वयनमा आइनसकेको उपमेयर बसेलले बताइन् । भूकम्प गएको ४५ महिना बितिसक्दा पनि अति विपन्न, दलित, एकल महिला, ज्येष्ठ नागरिक अपांग परिबारले घर बनाउन नसकेकाले यस्तो कार्यविधि ल्याइएको नगरपालिकाको भनाइ छ ।




