
पृथ्वीजयन्तीदेखि मेची, महाकाली अभियान सुरु हुने
दरौंदी समाचारदाता
गणतन्त्र स्थापनापछि गोरखामा पहिलो पटक साझा रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । गतवर्षहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दिवसका अवसरमा कार्यक्रम गर्दै आएको थियो ।
राजतन्त्र कायम रहेको अवस्थामा सामुहिक रुपमा दिवस मनाउने गरिएपनि गणतन्त्र स्थापनापछि भने त्यो सिलसिलाले निरन्तरता पाउन सकेको थिएन । सदरमुकामस्थित नागरिक अगुवा हरुको पहलमा सोमबार भएको छलफलले सामुहिक रुपमा पृथ्वी जयन्ती मनाउनका लागि मूल समारोह समिति गठन गरेको हो ।
यसअघि एकता दिवस मनाउनका लागि छुट्टै समिति बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अलग कार्यक्रम नगर्ने भएको छ । राजनीतिक दल, नागरिक अगुवा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी रहेको भेलाले ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठको संयोजकत्वमा समारोह समिति गठन गरेको हो ।
नेपाल एकिकरणको सुरुवात भएको जिल्लाबाटै एकताको सन्देश दिनका लागि साझा कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । देशब्यापी रुपमा एकताको सन्देश दिन पुष २७ गते गोरखाबाटै मेची महाकाली अभियान पनि सुरु गर्न लागिएको उनको भनाई छ ।
तारा पौडेल, स्वर्णिम वाग्ले, सूर्यराज आचार्य, सुमनकुमार कर्ण, राजन सुवाल लगायतका विशिष्ट ब्यक्तिहरुको सहभागीता रहने अभियानमार्फत एकता, समृद्धि र विकासको लागि देशब्यापी आब्हान गर्न लागिएको मूल समारोह समिति संयोजक श्रेष्ठले जानकारी दिए ।




