| आइतवार, कार्तिक २९, २०८३

सहिद लखनथापाको जन्मस्थल काहुले भंगारमा घरैपिच्छे धारा

अनुपमा खनाल :
नेपालका प्रथम सहिद लखन थापा मगरको जन्मथलो काहुले भँगारमा घरैपिच्छे खानेपानीको धारा निर्माण गरिएको छ ।
सहिद लखन गाउँपालिका वडा नं ७ बुंकोटको काहुले भंगारमा जलकन्या खानेपानी आयोजना मार्फत घरैपिच्छे धारा जडान गरिएको हो । गतबर्षको मंसिरबाट निर्माण सुरु भएको आयोजना हालै सम्पन्न गरी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।
स्थानीय उपभोक्ता, गाउँपालिका, तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायतको ११ लाख रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।
आयोजनाका लागि स्थानीयले साढे दुई लाख रुपैयाँ चन्दा संकलन गरेर जुटाएका थिए । गाउँपालिका ले एक घर एक धारा भन्ने नीति अनुसार तीन लाख रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिए । साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले एक लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको थियो । स्थानीयले चार लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए । बस्तीबाट दुई किलोमीटर पैदल दुरीमा रहेको जलकन्या खोलाबाट ल्याएको पानी २५ घनमिटरको टयांकीमा संकलन गरी घर घरमा पु¥याईएको छ ।
४० घर रहेको सो वस्तीमा पहिलो चरणमा २९ घरमा धारा जडान गरिएको छ । भुकम्पले भत्केका घर बनाएसँगै अरु घरले पनि धारा जडान गर्ने भएका छन् ।
यसअघि जलकन्याबाट पाइप मार्फत ल्याएको पानी सार्वजनिक धारा मार्फत गाउँमा वितरण हुँदै आएको थियो ।
एक गाग्री पानी लिन पनि धारामा लाईन बस्नुपर्ने बाध्यता अब हटेको स्थानीयले बताएका छन् । ब्यबस्थित र दिगो रुपमा आयोजना सञ्चालनका लागी उपभोक्ता समितिले हरेक घरका धारमा मिटर जडान गरेको छ ।
१५ युनिटसम्म पानी प्रयोग गर्नेलाई एक सय ५० रुपैयाँ न्युनतम महसुल निर्धारण गरिएको उपभोक्ता समितिको अध्यक्ष काजिराम आलेले बताए । १५ युनिटभन्दा माथि पानी प्रयोग गर्नेसँग लिने महसुलका बारेमा थप छलफल गरि निर्णय गर्ने उनको भनाई छ ।
संकलित रकम मर्मत सम्भार कोषमा राख्ने समितिको योजना छ । सोही रकमबाट एक जना हेरालु नियुक्ती गर्ने तयारी पनि भैरहेको अध्यक्ष आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्