
बिरामी भए ढोकामा नूनको पोको झुण्ड्याउने गाउँ
शिव उप्रेती : सामान्य बिरामी भए तत्काल औषधी उपचार गर्ने क्रम अचेल बढिरहेको छ । तर चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा भने बिरामी भए नूनको पोको ढोकामा झुण्ड्याउने चलन अहिले पनि छ । धामीले जोखाना हेरेपछि देवता लागेको भए ढोकाभित्र र भूत लागेको भए ढोकाबाहिर नूनको पोको झुण्डउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए ।
साबिक सिर्दिबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिएको यहाँ १९ घरधुरी छन् । यसलाई कर तिर्ने गाउँ भनेर पनि चिनिन्छ ।
‘सिर्दि भनेको कर हो’, गुरुङले भने, ‘गाउँनेरको ठूलो रुख छ । बाजेको पालामा अठारसय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो । करतिर्ने र उठाउनेहरु त्यहीँ बास बस्थे । त्यसैले यो ठाउँको नाम नै सिर्दिबास भएको हो ।’ अहिले सिर्दिबास भन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय पनि छ । कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ । कोही बिरामी भएमा कर लेनदेखमा खटपट भएर बिरामी भएको पनि मान्ने चलन छ । ‘पोकोभित्र नून, चामल र पैसा राख्ने चलन छ’ गुरुङ भन्छन्, ‘बिरामी निको भएपछि देउताको थान बनाएर त्यो पोको चढाएर पूजा गर्ने चलन छ ।’ पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर औषधी उपचार पनि गर्ने र नूनको पोको पनि झुण्ड्याउने दुवै चलन रहेको स्थानीयबासी बताउँछन् ।
सिर्दिबास भन्दा केही माथिको गाउँलाई घट्टेखोला भन्ने चलन छ । पानीघट्टा चलाउने खोला रहेकाले सो ठाउँको नाम नै घट्टे खोला राखिएको हो ।




