| आइतवार, कार्तिक २९, २०८३

गोरखाको भौतिक पूर्वाधारमा प्रदेश सरकारको रु ५० करोड


किरण लोहनी : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो वर्ष गोरखामा ५० करोड भन्दा बढीको योजना कार्यान्वयन गर्ने भएको छ । पूर्वाधार विकास कार्यालय लमजुङमार्फत जिल्लामा सडक, झोलुङ्गे पुल र मोटरेवल पुल निर्माणको काम हुन लागेको हो ।
गोरखामा कार्यान्वयन हुने २५ भन्दा बढी योजनाको सर्भेको काम सुरु भैसकेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए ।
‘सबै योजनाको काम बहुवर्षे खरीद गुरुयोजना अनुसार हुने भएकाले क्रमागत रुपमा बजेट विनियोजन भएर आउँछ, यो वर्षमात्रै करीव ५० करोड विनियोजन भएको छ’ उनले भने । प्रदेशको पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ४ वटा सडक स्तरोन्नतीको काम सुरु गर्ने भएको छ । जस अन्तर्गत ढुंगागाडे भञ्ज्याङ बुंकोट नामजुङ घैरुङ मनकामना सडक, वारपाक लाप्राक गुम्दा माछाखोला सडक, राधाकृष्ण मन्दिर, कालामाटा, पौवाटार विरुवाटार मिलनचोक हटिया मझुवा सडक र अजिरकोट गाऊँपालिका ४ ढोडेनीबाट सिम्जुङ हुँदै भच्चेकसम्मको सडक स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
‘चारवटा सडकका लागि चालु आर्थिक २ करोड रुपैयाका दरले बजेट विनियोजन भएको छ, आगामी बर्ष थपिँदै जान्छ’ पराजुलीले भने, ‘अहिले स्तरोन्नतिको काम सुरु हन्छ, केही वर्षमा कालोपत्रे गर्ने मन्त्रालयको लक्ष्य रहेको बुझिएको छ ।’ यस्तै चीनको सीमा रुइला भञ्ज्याङबाट साम्दो ल्हो हुँदै सिर्दिवाससम्मको सडकको टूयाक निर्माणका लागि चारकरोड रुपैया बिनियोजन भएको छ । प्रदेश सरकारलाई सो सडकलाई क वर्गको प्रादेशिक सडकका रुपमा सूचीकृत गरेको छ । प्रादेशिक सडक अन्तर्गतनै ख वर्गका ६ वटा सडकका लागि साढे ६ करोड रुपैया विनियोजन भएको छ । यस्तै ७ वटा झोलुङ्गे पुल निर्माणका लागि यो वर्ष ११ लाख रुपैयाका दरले बजेट छुट्याइएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता होमनाथ पौडेलले बताए । प्रदेश सरकारले यही वर्षबाट ५ वटा सडक पुल निर्माणको काम पनि थाल्दैछ ।
चालु आर्थिक वर्ष हरेक पुलका लागि ७५ लाख रुपैयाका दरले बजेट विनियोजन भएको पौडेलले जानकारी दिए ।
‘प्रदेशको पूर्वाधार विकास मन्त्रालय बाहेक अहिले सडक डिभिजन कार्यालयले काम गरिरहेका केही सडक पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ’ पौडेलले भने, ‘ केन्द्रीय सरकारले सशर्त अनुदान मार्फत दिने योजनाहरु समेत जोड्दा गोरखामा प्रदेशको पूर्वाधार विकास मन्त्रालय मार्फत यो वर्ष आधा अर्बदेखि एक अर्ब रुपैयासम्मको काम सुरु हुने देखिन्छ ।’
संघीय सरकारबाट हस्तान्तरण भएर आउने बाहेक अरु सबै योजनाको सर्भेको काम सुरु भैसकेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । प्रदेश सरकारले लमजुङ र गोरखा हेर्ने गरी बेशीसहरमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । सो कार्यालयले मुख्य गरी यसअघि जिल्ला प्राविधिक कार्यालय मार्फत हुने पूर्वाधार विकासको काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्