| आइतवार, कार्तिक २९, २०८३

जापान सरकारको सहयोगमा निर्मित पाँच पुल हस्तान्तरण

अनुपमा खनाल :
जापान सरकारको सहयोगमा गोरखाका बिभिन्न ठाउँमा निर्माण गरिएका पाँचवटा मोटरेबल पुल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । अजीरकोट गाउँपालिकाको ढोडेनी बजारमा सोमबार एक समारोह गरी जापानी राजदूत मासामिची साइगाले नेपालका भौतिक योजना तथा निर्माणमन्त्री रघुबीर महासेठलाई हस्तान्तरण गरेका हुन् ।
जापान सरकारको ९३ करोड रुपियाँको लागतमा जापानी सहयोग नियोग जाइकाले गोरखाको बाह्रकिलो(बारपाक सडकको बिभिन्न खण्डमा पाँचवटा पुल निर्माण गरेको थियो । २०७२ सालको भुकम्प लगत्तै जापान सरकारले गोरखामा ‘नेपालमा भुकम्प पश्चातको पुननिर्माण तथा पुनरुत्थान परियोजना’ लागु गरी पाँच ठाउँमा पुल निर्माणको जिम्मा लिएको थियो । परियोजना अन्तरगत जाइकाले अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका जोड्ने दरौदी खोलामा १३४ मिटर लम्बाईको मोटरेबल पुल बनाएको छ ।यो पुल मधयपहाडी लोकमार्ग अन्तरगत पर्छ । अजिरकोट गाउँपालिकको झ्याल्ला खोलामा ५० मिटर र घट्टेखोलामा ३० मिटर लामो पुल बनाएको छ । त्यस्तै, बारपाक सुलिकोटको राङरुङ खोलामा ५० मिटरको र सिरानचोक गाउँपालिकाको खहरे खोलामा २५ मिटर लम्बाईको मोटरेबल पुल हालै निर्माण सम्पन्न गरेको हो । बाह्रकिलो, बारपाक सडकखण्डमा पर्ने दरौंदी, घट्टेखोला र राङरुङ खोलामा अनुदान सहयोग अन्तरगत निर्धारित समयभन्दा दुई महिना अघि गत असार महिनामा पुल निर्माण भएका थिए । खहरे खोला तथा झयाल्ला खोलामा निर्मित पुलहरु जाइकाको प्राविधिक सहयोग अन्तर्गतको परियोजनाबाट बनेका हुन् । राष्टिूय पुननिर्माण प्राधिकरणसँग तीनबर्षअघि सम्झौता गरेर पुल निर्माण सुरु गरिएको थियो ।
कार्यक्रममा मन्त्री महासेठले जाइकाले सम्झौता अनुसार नै निर्धारीत समय अघि नै पुल निर्माण गरेकोमा खुसी ब्यक्त गरे । उनले बाह्रकिलो, बारपाक सडक चालु आर्थिक बर्षभित्रै कालोपत्रे सक्ने पनि प्रतिबद्धता गरेका छन् । सो सडक कालोपत्रे गर्ने काम दुई बर्ष ढिला भइसकेको छ । ‘म बिषयमा गम्भीर छु’, उनले भने, ‘सडक निर्माणका लागि निर्माण सामाग्री अभाव हुन दिनु भएन । यसमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।यो जेठभित्रै सडक कालोपत्रे गर्नेगरी काम लगाउन म निर्देशन दिन्छु ।’ वर्तमान सरकारले अब विकास निर्माणका योजनालाई तिब्रताका साथ कार्यान्वयन गर्ने उनको भनाई छ ।
समयमा नै विकास निर्माणका काम सक्न उनले ठेकेदारहरुलाई निर्देशन पनि दिएका छन् ।कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दुवाडीले विकास निर्माणका काममा ढिलाई र आलटाल नगर्न आग्रह गरेका छन् । कार्यक्रममा जापानी राजदूत साइगोले पूल निर्माण सँगै नेपाल र जापान बिचको सम्बन्ध अझै प्रगाढ भएको बताए । पुलकै माध्यमबाट अब स्थानीय किसानलाई कृषि उपज बिक्रीका लागि बजारसम्म पुग्न सजिलो हुने भएकाले जिल्लाको आर्थिक क्रयाकलापमा पनि टेवा पुग्ने उनको विश्वास छ । भुकम्पको केन्द्रबिन्दु गोरखा जिल्लामा पुननिर्माणलाई सघाउन, निर्माण सामाग्री ओसारपोसार तथा सहज आवतजावतको लागि पाँच पुल निर्माणमा सघाएको जाइका नेपालका नवनियुक्त प्रमुख युमिको आसाकुमाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्