
मनकामनाको नयाँ मन्दिर भक्तजनका लागि खुल्ला
प्रसिद्ध मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुल्ला गरिएको छ । भुकम्पपछि मन्दिरको पुननिर्माण सकिए लगत्तै बुधबारबाट पुजाआजाका लागि भक्तजनालाई मन्दिर खुल्ला गरिएको हो ।
एक महिना अघि नै मन्दिर बनेपनि आगँनमा ढुंगा छाप्ने काम बाँकी थियो । तर अहिले यो काम पनि सकिएकाले भक्तजनका लागि खुल्ला गरिएको मुल पुजारी इन्सान थापाले बताए ।
मन्दिर पुननिर्माणका क्रममा ४३ महिनासम्म टहरामा भगवतीको स्थापना गरि पुजाआजा गरिएको थियो । मन्दिर जीर्णाेद्धारका लागि जगैदेखि भत्काएर पुरानै शैलिमा पुननिर्माण गरिएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । ‘पुननिर्माण सक्न झण्डै १४ करोड रुपैया खर्च भएको छ’ उनले भने ‘ चार करोड रुपैयाँ सरकारले दिएको हो । बाँकी १० करोड रुपैयाँ भक्तजन बाटै जुटाइएको हो ।’
मूल मन्दिरको निर्माण सकिएपनि परिसरमा केही पूर्वाधार निर्माणको काम बाँकी रहेको छ । तर आबश्यक पुर्वाधार निर्माणको क्रम जारी राख्ने श्रेष्ठले जानकारी दिए । ‘भक्तजनले सहयोग गर्ने क्रम जारी छ’ उनले भने ‘ सहयोग रकम खर्चेर मन्दिरको पश्चिम तर्फको भागमा टेवा पर्खाल लगाउने, शौचालय बनाउने, परेवा घर र वत्ति बाल्ने ठाउँ बनाउने लक्ष्य छ ।’ नयाँ मन्दिर बनेसँगै आसपासको क्षेत्रलाई थप ब्यवस्थित बनाउन गुरुयोजना निर्माणको क्रम चलिरहेको जीर्णोद्धार समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
कहिले बनेको भन्ने यकिन विवरण नभएपनि जीर्णोद्धारअघिको स्वरुपको मन्दिर २ सय वर्षभन्दा पहिलेनै बनेको प्रमाण भेटिएको स्थानीयले बताएका छन् ।
विसं २०२६ सालमा छानो फेर्ने बाहेक मर्मतको कुनै काम हुन नसक्दा मन्दिर जीर्ण बन्दै गएको थियो । मन्दिर पूर्व पश्चिम १६ सेन्टिमिटर र उत्तर दक्षिण पनि ५ सेन्टिमिटर भासिएको पाईएपछि जिर्णेाद्धारका लागि पहल भएको थियो । २०६८ साल चैत २० गते तत्कालीन प्रधानमन्त्री बाबु राम भट्टराईले मन्दिर जीर्णोद्धारको शुभारम्भ गरेका थिए । तर आर्थिक अभाव लगायतका कारण जीर्णोद्धारको काम अघि बढ्न सकेको थिएन ।
सरकारले आवश्यक रकम उपलब्ध गराउन ढिलाई गरेपछि जीर्णोद्धार समितिले भक्तजनसँग चन्दा संकलन थालेको थियो ।
मन्दिरको छाना र गजूरमा सुनको जलप लगाउनका लागि मात्रै १८ किलो सुन खर्च भएको श्रेष्ठको भनाई छ । केही दिनमा विशेष कार्यक्रम गरेर जीर्णोद्धारका क्रममा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भएको उनले बताए । मन्दिर बनेपछि सर्बसाधारण भक्तजनलाई पूजा गर्न सहज भएको छ ।




