
बन्द विद्यालयका गोठाला विद्यार्थी
नाम, पेमा ग्याल्बो । उमेर, १५ बर्ष । घर, चुम्लिङ । पेशा, गोठालो । काठमाडौंस्थित कर्मा साम्दिलिङ गुम्बामा एक कक्षामा पढ्दा पढ्दापढ्दैका पेमालाई बुबा ङवाङले घरको काम गराउन कर गरेर उठाएर ल्याए । त्यसपछि उनको विद्यार्थी जीवन समाप्त भयो र गोठालो जीवन सुरु भयो ।
‘म एक कक्षा पढ्दै थिएँ । दिदी पनि इण्डियाको गुम्बामा छ । तँ पनि काठमाडौं बसेपछि घरमा काम गर्ने मान्छे छैन भन्दै बुबाले मलाई जबर्जस्ती लिएर आउनु भयो’, उनी भन्छन्, ‘घर आएपछि सँधै गाईबाख्रा चराउन गोठालो जानु प¥यो । बा, आमा कसैले पनि स्कूल जाऊ भनेनन् । अहिले त स्कूल जाउँ जस्तो पनि लाग्दैन । पढ्न मन पनि लाग्दैन ।’
साँझ बिहान घाँस काट्ने, दाउरा टिप्न जाने, दिउसो प्राय सँधै गोठालो जाने उनको दिनचर्या हो ।
उनीमात्र होइन, चुमनुब्री गाउँपालिका ६ चुम्चेतका अधिकांश बालबालिका शिक्षाको उज्यालोबाट ओझेलमा छन् । विद्यार्थी नभएपछि गाउँका विद्यालय धमाधम बन्द हुन थालेका स्थानीयबासी बताउँछन् । पेमाथाङ आधारभूत विद्यालय तीनबर्षदेखि बन्द रहेको लोक्पाका ल्हाक्पा लामा बताउँछन् । करिब ५० घरधुरी रहेको लोक्पाको विद्यालय विद्यार्थीको अभावले बन्द भएको हो । ‘विद्यार्थी नभएकाले चलिरहेको स्कूल बन्द भयो’, उनी भन्छन्, ‘विद्यालय बन्द भएपछि यहाँका एक शिक्षकलाई शिक्षा कार्यालयले वुद्ध मावि सिर्दिबास र अर्को शिक्षकलाई नुब्री प्राबि गपमा काजमा पठाएको छ ।’
चुम्चेत लगायतका दुर्गम गाउँका अधिकांश शिक्षक सुगमका हुने गर्छन् । उनीहरु नियमित पढाउन नजाने र गए पनि आलटाल गरेर पढाउने नभएकाले अभिभावकले आफ्ना बालबालिका अन्य वडाका आवासीय विद्यालयमा पठाएको अर्का स्थानीय छेवाङ लामाको भनाइ छ ।
‘कसैका छोराछोरी साम्दोमा, कसैका सामागाउँ, कोही गप, कोही फिलिम, काठमाडौं र कोही त इण्डिया पनि पठाएका छन्’ उनले भने, ‘ती स्कूलहरुमा बस्ने, खाने, लुगा कपडा सबै निशुल्क व्यबस्था छ । त्यहाँ पढाइ पनि राम्रो हुने भएकाले गाउँको विद्यालय रित्याएर सबैले छोराछोरी अरु गाउँमा पठाएका छन् ।’
वडा नं. ६ रिप्चेतमा ४८ घर धुरीको बसोबास छ । तर त्यहाँको विद्यालयमा पुगनपुग १० जना मात्र विद्यार्थी छन् । यहाँका बालबालिका कतिपय गुम्बामा, कतिपय आसपासका आवासीय विद्यालयमा र कतिपय घरायसी काममा जाने गरेकाले पठनपाठनका लागि गएपछि विद्यालय विद्यार्थी बिहिन भएको स्थानीय सेराप दोर्जे बताउँछन् ।
आफ्नै गाउँमा आवासीय विद्यालय भएको भए गाउँका बालबालिका लाई गाउँमै राख्न सकिने वडा नं. ६ का अध्यक्ष लोप्साङफुञ्जोको तर्क छ । ‘साबिकको चुम्चेत गाविस बाहेक सबै वडामा आवासीय विद्यालय छ’ उनी भन्छन्, ‘हाम्रो वडामा पनि सिद्ध गणेश प्राविलाई आवासीय बनाऔं भनेर मैले शिक्षा कार्यालयमा बारम्बार भनेको छु । बल्लतल्ल सदरमुकाम पुगेर जिशिअलाई भेटेर कुरा ग¥यो, हाम्रो कुरा जिशिअले सुन्दै सुन्दैनन् । यस्तो असम्भव कुरा लिएर नआउनू भन्छन् ।’ शिक्षाको क्षेत्रमा पछाडि परेकाले आफ्नो वडा सबैभन्दा पिछडिएको उनको भनाइ छ ।
हिमालपारि रहेको बिकट वडा नं. ६ चुम्चेतमा दुईसय ६६ घरधुरी छन् । सरकारले वितरण गरेको हिमाली छात्रवृत्ति आफ्नो वडाले पनि पाए विद्यार्थीलाई गाउँमै थेग्न सकिने उनको विश्वास छ ।




