
३० बर्षदेखि एउटै माग सुरक्षित हिड्ने बाटो पाउँ
सरकारलाई असजिलो हुने धेरै ठूलो माग होइन, उत्तरी गोरखाका बासिन्दाले बर्षौंदेखि एउटै माग गरिरहेका छन् ः बाह्रै महिना हिड्न मिल्ने पैदल बाटो चाहियो । हिड्न नसकिने बाटोमा हिड्दा कैयौं मान्छे र पशुचौपायाले ज्यान गुमाउनु परेकाले निर्धक्क हिड्ने बाटो चुमनुब्रीबासीको माग बर्षौंदेखि पहिलो नम्बरमा छ ।
३० बर्षअघि बहुदल आएपछि सो क्षेत्रबाट पहिलोचोटी विजयी भएका सांसद चीनकाजी श्रेष्ठसंग साबिक ल्हो गाविसका अध्यक्ष छेवाङ ग्याल्जेन लामाले अठारसय खोलामा राम्रो बाटो माग गरेका थिए । यसको ३० बर्षपछि संघीय गणतन्त्र आएपछि सोही क्षेत्रबाट जितेर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामशरण बस्नेतसंग पनि उनीहरुको मुख्य माग पैदल बाटो नै हो । ‘सदरमुकाम जानका लागि घरबाट निस्कँदा फर्केर आइन्छ कि आइँदैन भनेर मनमा पिर पर्छ’, मन्त्रीसंग चुमनुब्रीका बासिन्दाको सामुहिक भेटघाटको क्रममा वडा नं. ४ का अध्यक्ष पेमा ढुण्डुप लामाले समस्याको कथाव्यथा सुनाउँदै भने, ‘अरु माग त हाम्रो लागि दोस्रो तेस्रो प्राथमिकता हो । हाम्रो पहिलो माग त बाटो नै हो ।’
चुमनुब्रीका बासिन्दाको माग सुनेपछि भावुक हुदै मन्त्री बस्नेतले आफ्नो पहिलो प्राथमिकता पनि बाटो नै रहने बताएका थिए ।
बुढीगण्डकी किनारको ज्यानमारा बाटोका कारण धार्चे गाउँपालिकाको उपल्लो भेग र चुमनुब्री गाउँपालिकाका सातवटै वडाका बासिन्दा अहिले पनि ढुक्कसंग हिड्न सकेका छैनन् । ‘घरबाट निस्कदा बाँचिन्छ कि, मरिन्छ भनेर निस्कनुपर्छ’, नाम्रुङका अर्का स्थानीय छिरिङ याङ्जोम भन्छन्, ‘कति सरकार फेरिए । बाटो बन्ला भन्ने आशा गर्दागर्दै बुढो भइसकियो, तै बाटो बनेन ।’
माछाखोलादेखि यारुबगरसम्म, चिसापानीदेखि छेकम्पारसम्म, न्याकफेदीदेखि बिहीसम्म र नाम्रुङदेखि स्यालासम्मको बाटो सबैभन्दा जोखिम रहेको स्थानीयबासीको भनाइ छ । ‘माछाखोलादेखि छेकम्पारसम्मको बाटो अत्यन्त जोखिम छ’, वडा नं. ७ का अध्यक्ष पासाङ फुञ्जो भन्छन्, ‘हिउँदभरि बनायो, बर्खा लागेपछि सबै बगाइदिन्छ । चौंरीखर्कको बाटो साह्रै जोखिम भयो । पारिबाट बाटो बनाउन भनेर बुढीगण्डकीमाथि दुई ठाउँमा पुल बनाइयो, दुवै पुल लगिदियो । अहिले जस्ताको तस्तै भयो ।’ चौरीखर्कको भीरमा माथिबाट खसेको ढुंगाले लागेर पर्यटक घाइते हुने गरेको, खच्चडहरु पनि लडेर गण्डकीमा पुगेको उनको भनाइ छ । ‘म्हु गुम्बानेरको बाटोमा पहिरो खसेर असारमा एक जनाको मृत्यू भयो’, वडा नं. ७ का वडा सदस्य कर्साङ फुञ्जो भन्छन्, ‘यस्तो डरलाग्दो पहिरो छ कि, त्यहाँ पुगेपछि मान्छे पनि कहालिन्छन्, याक, चौरी, खच्चड पनि टक्क रोकिन्छ । दुर्गमका मान्छेलाई सरकारले अरु विकास त दिएन, भारी बोकेर हिड्ने सुरक्षित बाटो पनि दिएन ।’ माछाखोलाका धनकुमार गुरुङका अनुसार अठारसय खोलाको बाटोमा लडेर बर्षेनी कोही न कोही मर्छन् । ‘पोहोर तातोपानी भन्दा पारिपट्टि ढुङ्गा खसेर एक जना नेपाली, तीन जना विदेशी घटनास्थलमै मरे’, खच्चड ब्यबसायी समितिका अध्यक्ष समेत रहेका गुरुङ भन्छन्, ‘भारी बोक्ने खच्चड पनि लडेर एक बर्षमै करिब डेढसय वटासम्म मर्छन् ।’ यहाँको बाटोमा कि माथिबाट ढुङ्गा आएर लागेर मान्छे र पशुचौपाया मर्ने, कि गण्डकीमा खसेर मर्ने गरेको उनले बताए । जताततै पहिरै पहिरो । पहिरोमा पाइला मात्र अट्ने साँगुरो बाटो । त्यही पहिरोमा स्थानीयबासी, मनास्लु क्षेत्र जाने पर्यटक, भरिया र खच्चडको बथान हिँड्ने गर्दा ज्यादै जोखिम हुने गरेको चुमनुब्री ६ का वडाअध्यक्ष लोप्साङ फुञ्जो बताउँछन् । ‘सबैभन्दा बढि खतरा त चुम्चेतको क्षेत्रमा छ’, सोही वडाका अध्यक्ष लोप्साङ भन्छन्, ‘पोहोरसम्म त यहाँ डोरीमा झुण्डिएर भीर काट्नु पथ्र्यो । अहिले पहरो खोपेर क्यन्टिलिभर पुल त हालेको छ, तर त्यो पनि माथिबाट ढुंगा खसेर ठाउँठाउँमा ह्वाङ्गै बनाइदिएको छ ।’ सो क्षेत्रमा आनन्दसंग हिड्ने स्थानीयको सपना सपनमै सीमित रहेको उनको भनाइ छ । ‘जताततै पहिरो छ ।पहिरोमा यस्सो खुट्टा राखेर हिड्न मिल्ने ठाउँ बनाउँदैमा वडाको बजेट त सकिन्छ’, उनी भन्छन्, ‘यत्रो पहरो खोपेर फराकिलो बाटो बनाउन गाउँपालिकाको बजेटले धान्दैन, वडाको बजेटले पनि पुग्दैन ।’ पञ्चायतको पालादेखि गणतन्त्र आउँदासम्म उत्तरी गोरखाका बासिन्दाको ‘बाटो’ माग पूरा नभएको चुमकल्याण समितिका अध्यक्ष निमा लामाको भनाइ छ । ‘देशको अरु ठाउँमा धेरथोर परिवर्तन भएको छ तर अचम्मको कुरा के छ भने पञ्चायतको पाला देखिको हाम्रो ठाउँको बाटोको अबस्था पनि फेरिएको छैन, माग पनि फेरिएको छैन ।’ हिड्न मिल्ने बाटो माग्न स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र धाउँदा पनि अबस्था दुर्गमबासीको यात्राको खतरा टरेको छैन ।




