
बारपाक सुलिकोटमा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बारपाक सुलिकोट गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना वडा नं. ६ स्थित सहिद आशकाजी श्रेष्ठ स्मृति रङ्गशालामा सोमबारबाट रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका भित्रका १० वटा मावि र ३ वटा निमावि गरी १३ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी रहेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । १३ वटा विद्यालयका करिब ३ सय ५० विद्यार्थीले विभिन्न ३२ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन छात्र÷छात्रा दुबैतर्फ ३ हजार मिटर, ४ सय मिटरको दौड, लम्जम्प तथा छात्र तर्फको हाईजम्प खेलहरुको सम्पन्न भएको उनले जानकारी दिए ।
प्रतियोगितामा समूहतर्फ भलिबल खेल पनि सुरु भएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । सहभागी विद्यालयका विद्यार्थीहरुले छात्र/छात्रा तर्फ १६/१६ विधामा प्रतिस्पर्धा गर्नेछन् । उनका अनुसार प्रतियोगिता सोमबार, मंगलबार र बुधबारसम्म सञ्चालन हुनेछ ।
उनका अनुसार प्रतियोगितामा समूहतर्फ कबड्डी, दौडतर्फ एक सय, दुई सय, तीन सय मिटर, आठ सय मिटर, १५ सय मिटर र रिलेतर्फ ४ सय मिटर, १६ सय मिटरको दौडमा सहभागी विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, त्रिपल जम्प, सटपुट र ज्याब्लिङ थ्रो लगायतका खेलमा पनि विद्यार्थीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बिष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन माया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, जिल्ला खेलकुद विकास समितिका सदस्य मान बहादुर तमाङ, वडा नं. ७ का अध्यक्ष एवं जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङ, वडाध्यक्षलगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।




