| बुधबार, मंसिर २, २०८३

विभिन्न बाढी पहिरोमा निधन भएकाको परिवारलाई धार्चेद्वारा राहत प्रदान

पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर निधन भएका गोरखा लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । धार्चे गाउँपालिका का प्रमुख लक्ष्मण गुरुङले मृतक युक्त गुरुङको परिवारलाई किरिया खर्चमा सहयोग पु¥याउने उद्देश्यले राहतस्वरूप ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । राहत रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले साहसी पर्वतारोही गुरुङले राष्टू र यस क्षेत्रको लागि पु¥याएको योगदानको स्मरण गरेका थिए ।
२०४५ सालको पुस ९ गते धार्चे ४ लाप्राकमा जन्मेका युक्त गुरुङले १० पटक सगरमाथाको आरोहण गरिसकेका थिए । उनले पछिल्लो पटक गत मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका थिए । निर्मल पुर्जाको इलाइट एक्सपेण्ड कम्पनीमा आवद्ध भएर हिमाल आरोहणको काम गरिरहेका उनले हालसालै मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र प्राप्त गरेका थिए । १० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने आरोही बन्न सफल भएका थिए ।
उनले सन् २०२५को मे १० देखि यो बर्षको मे २० सम्म तीनपटक सम्म सगरमाथा आरोहण गरेका थिए । २०२५ को मे १०, अक्टुबर १५ र २०२६ को मे २० मा उनले सगरमाथाको सफल आरोहण गरेका थिए । गुरुङ गण्डकी अल्पाइन क्लवका कोषाध्यक्षसमेत थिए । उनले सन् २०११ देखि सगरमाथाको सफल आरोहण गर्न सुरु गरेका थिए । त्यसयता उनले सन् २०१७ मा, २०१८ मा, २०२० मा २०२२ मा दुईफेर, २०२४ मा पनि सफल आरोहण गरिसकेका छन् । यो बर्ष उनले एकै सिजनमा आठहजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गरेका छन् । अप्रिल १८ मा अन्नपूर्ण १, मे २० मा सगरमाथा र मे २१ मा ल्होत्सेको सफल आरोहण गरेका थिए ।
हिमालमै हुर्किएका उनी ३७ बर्षको उमेरमा हिमालमै अस्ताए । अहिले कहिलै नफर्किने गरी उतै अस्ताएका छन् ।
साथै धार्चे गाउँपालिकाको विपद कोषबाट अध्यक्ष गुरुङले भोटेकोशी त्रिशुली बाढी पहिरोमा परी ज्यान गुमाएका लाप्राकका चार जनाको परिवारलाई यसअघि नै राहत रकम प्रदान गरेका थिए ।
त्यस्तै हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा पुरिएर निधन भएका धार्चे २ केरौँजाका दुई जनाको परिवारलाई पनि राहत रकम प्रदान गरेका थिए भने बूढीगण्डकी बाढीमा परी वेपत्ता भएका लाप्राकका एकजनाको परिवारलाई पनि राहत रकम प्रदान गरेका थिए ।
शव फेला नपरेकाको परिवारलाई शव खोजविन गर्ने खर्चबापत रु ५० हजार र शव फेला परेकाको परिवारलाई किरिया खर्च वापत ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्