| मङ्लबार, मंसिर १, २०८३

गोरखामा तारन्तार बेमौसमी पहिरो जानुको सारभूत कुरो के हो ?

पहिरो जो कोही (पहाडवासी) नेपालीका लागि नौलो घटना हुँदै होइन तर, केही महिनाको अन्तरालमा ठूल्ठूला धेरै पहिरो गइरहन्छ भने यसको रहस्य खोज्नु आवश्यक छ ।
गोरखामा यसबर्ष बेमौसमी पहिरोका धेरै घटना भए । भन्नेले त पहिले सामाजिक सञ्जाल थिएन, पहिरो गए पनि आसपासका बाहेकलाई थाहा हुन्थेन । अहिले सामाजिक सञ्जालका कारण सूचना फैलिएको हो मात्र पनि भन्न सक्छन् । तर त्यो मात्र होइन ।
गत शनिबार धार्चे गाउँपालिकामा ठूलो सुख्खा पहिरो गयो । प्रत्यक्षदर्शी प्रदीप खत्रीका अनुसार धार्चे गाउँपालिका वडा नं. १ स्थित ठाडो भ¥याङ र यारुमा शनिबार बिहान ८ः१५ बजे ठूलो सुख्खा पहिरो गएको हो । उनका अनुसार ठाडोभ¥याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरस्थित क्यान्टिलिभर पुलतर्फ सानो पहिरो गएको छ ।
पहिरोले ठूलो क्षेत्र ओगटे पनि कुनै मानवीय तथा भौतिक पूर्वाधारमा क्षति नभएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । जंगलमा चराउन लगिएका भेँडा बाख्रा क्षति भएको अनुमान भए पनि यकिन सूचना प्राप्त भएको छैन । यो घटनाले केही दिनको अन्तरालमा तारन्तार यसरी किन सुख्खा पहिरो झरिरहन्छ भन्नेबारे झस्काएको छ । साथै पूर्ववर्ती घटनाहरुलाई पुनर्ताजगी गराएको छ । यो घटनाको केही दिनपछि गत कात्तिक २० गते चुमनुब्री गाउँपालिका(१, साम्दो क्षेत्रमा ठूलो सुख्खा पहिरो खस्दा बूढीगण्डकी नदीको सहायक खोलासमेत थुनिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार त्यसदिन दिउँसो १२ बजे मनास्लु हिमालको फेदीमा अवस्थित लार्केबाहु क्षेत्रमा सुख्खा पहिरो खसेको थियो । हिउँले ढाकिएको ठूलो ढिस्को झरेको पहिरोका कारण स्थानीय दिन्दूक खोला थुनिएर करिब दुई सय मिटर लम्बाईको हिमताल बनेको थियो । उक्त हिमताल केहीबेरपछि खुलेको चुमनुब्री(१ सामागाउँका मिङमार लामाले जानकारी दिए । लामाका अनुसार दिन्द्रक खोलामा मनास्लु हिमालको क्याम्प १ तर्फबाट सुख्खा पहिरो खसेको थियो । त्यसको केही दिनअघि गत कात्तिक १७ गते चुमनुब्री गाउँपालिका(५ स्थित सेराङ गुम्बा जाने बाटोमा पनि ठूलो सुख्खा पहिरो गएको थियो । मानवीय र कुनै भौतिक क्षति नभए पनि ठूलो सुख्खा पहिरोले स्थानीयबासी त्रसित बने भने घटनाप्रति धेरैको ध्यानाकर्षण भएको थियो । सबैभन्दा चर्चित बन्यो, बूढीगण्डकीमा विनाशकारी बाढी निम्त्याउने उङ्गिलुङ पहिरो । गत असोज २५ गते सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्वाखाप्के(होजाङ) बाट झरेको हिमपहिरोपछि बूढीगण्डकीमा भीषण बाढी आएको थियो । उङ्गिलुङ खोलामा खसेको हिमपहिरोले खोला थुनिने र खुल्ने गर्दा बूढीगण्डकीको सहायक नदी स्यार र बूढीगण्डकीमा पटक पटक भीषण बाढी आएको थियो । सो बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाबाट सयौँको संख्यामा घर बगे । ६ जना बेपत्ता भए । सयौंको संख्यामा घरपालुवा जीव जनावरहरु पनि बेपत्ता भए । पुल, सडक, जलविद्युतका भौतिक संरचना तहसनहस भए । त्यसअघि गत भदौ १६ गते चुमनुब्री ७ स्यार खोलामा ठूलो सुख्खा पहिरो झरेर केही बेर जलप्रवाह रोकियो र खुल्यो । यसले कुनै क्षति नपु¥याए पनि आसपासका बासिन्दालाई त्रसित बनाएको थियो । त्यसको एकसातापछि भदौ २१ गते थेराङ खोलामा झरेको पहिरोले चुमनुब्री ४ नाम्रुङका चार घर बगे । दुईवटा फलामे र एउटा झोलुंगे पुल बगे । त्यसको दुस्प्रभावको शिकार स्थानीयबासी अहिले पनि छन् । भदौ यता निरन्तरको पहिरोको पछि धार्चे र चुमनुब्री क्षेत्रमा बारम्बार किन गइरहन्छ पहिरो भन्ने प्रश्न धेरैको मनमा जन्मिएको छ । जानकारहरुका अनुसार पहिरो जानुको कुनै एक मात्र कारण हुँदैनन् । जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिम दिनानुदिन बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा अब पहिरोका कारणहरु खोज्न र यसबाट बच्ने उपाय पत्ता लगाउन ढिला गर्न नहुने विज्ञहरुको सुझाव छ । ‘पहिरो जानुमा प्राकृतिक र मानव सिर्जित कारणहरु हुन्छन्’, भूगर्भविद् डिपी अधिकारी भन्छन्, ‘यसमध्य जलवायु परिवर्तनको कारण सशक्त छ । त्रिशुली र बूढीगण्डकीमा पहिरोपछिको बाढी यसका ज्वलन्त उदाहरणहरु हुन् ।’
सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणका कारण पनि पहिरोको जोखिम हुने गरेका छन् । गोरखामा केही महिनायता गएका पहिरोहरु कनै पनि सडक वा भौतिक पूर्वाधार निर्माणका कारण होइनन् । ‘दक्षिण इण्डियन प्लेटले उत्तरतर्फ घचेटिरहेको र उत्तरतर्फको ठूलो शक्तिले चेप्ने ठाउँ नदिएपछि भूसतह माथि बढिरहेको पाइन्छ । तथ्यगत रुपमा भन्दा बर्सेनि दुई सेमिका दरले भूसतह उत्तरतिर घचेटिरहेको छ’, अधिकारी भन्छन्, ‘दक्षिणतिरबाट उत्तरतिर घचेट्ने, उत्तरतिर जाने ठाउँ नपाएपछि माथि उठिरहेको पनि पाइएको छ । स्थलगत अध्ययन नभए पनि यसको प्रमाण सेटेलाइट इमेजको गहन अध्ययन ग¥यो भने पनि भेट्न सकिन्छ ।’ चलायनमान हुने हुँदा पनि पहिरो निरन्तर खसिरहने सम्भावना भएको उनको भनाइ छ । गत २०७२ सालको भूकम्प पनि पहिरोको अर्को कारण हो । त्यतिबेला गहिरो गरी चिरिएर केही समयपछि पातलो सतहले छोपिएको भएपनि उपयुक्त मौकामा त्यस्ता जोखिम भूभाग पहिरो जाने भूगर्भविद अधिकारीको तर्क छ । ‘भूकम्प वा अन्य कारण साना(साना चट्टान मिलेर बनेको पहाडका टुटेफुटेका भूभाग मुस्किल मस्किलले जोडिएर रहेका हुन्छन्, जुन जतिबेला पनि पहिरोका रुपमा खन सक्छन्’, अधिकारी भन्छन्, ‘ती वा चार रेक्टरस्केलका भूकम्पहरु मान्छेले थाहा पाएर वा नपाएर दिनहूँजसो गइरहेका हुन्छन् । त्यस्तो बेलामा पहिरो खस्छन् ।’ ती पहिरो सानो वा ठूलो जस्तो रुपको पनि हुनसक्ने उनको भनाइ छ ।
यीमध्य कुनै एक कारण वा संयुक्त कारण पहिरो जाने उनको भनाइ छ । सबै पहाडको गहन अध्ययन हुन नसकेपछि जनघनत्व भएको ठाउँको अध्ययन हुनुपर्ने अधिकारी सुझाव दिन्छन् । जसले गर्दा पहिरोबाट जनधनको क्षति हुन नपाओस् । ‘पहाडै पहाड मिलेर बनेको देशभरको पहाडको अध्ययन गर्न नेपाल जस्तो स्रोत साधन कम भएको मुलुकले नसक्ला तर जनघनत्व भएको ठाउँ र ठूलो संख्यामा पर्यटक आवतजावत गरिरहने ठाउँको पहाडको अध्ययन र बच्ने उपाय भने गर्नु अत्यन्त जरुरी छ’, भूगर्भविद् डिपी अधिकारीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्