| मङ्लबार, मंसिर १, २०८३

सर्दीमा दोस्रो पटक काठेपुल बन्यो, चुमउपत्यकाको पदमार्ग खुल्ला

गत असोज २५ गते हिमपहिरोपछि आएको चुमनुब्री ६ स्थित स्यारखोलाको बाढीले सर्दीभिरको क्याण्टिलिभर पुल बगायो ।
सो पुल बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का दर्जनौ घरधुरी नाकाबन्दीको अवस्थामा पुगे । स्थानीयबासीले लगातार १५ दिन काम गरेर चारवटा काठेपुल बनाएका थिए ।
तर ती पुलहरु पनि गत कात्तिक ११ र १२ गते आएको बर्षापछिको बाढीले बगाएपछि स्थानीयबासी निराश भएका थिए । बाढीले एकसाता भित्रै बगाएको काठेपुल पुन ः दोस्रो पटक निर्माण सम्पन्न भएको छ । स्थानीयहरु फेरि एकजुट भएर काठेपुल निर्माण गरेको लोक्पाका सेराप गुरुङले जानकारी
दिए ।
‘१५ दिन लगाएर बनाएको पुल एकसाता पनि नबित्दै बगायो । मुस्किलले बनाएको पुलमा वारपार गर्न पाउँदा खुशी भएका गाउँलेहरु फेरि निराश भएका थिए’, गुरुङले भने, ‘अब निराश भएर त पुग्दैन । फेरि जुटौँ र पहिलेझैँ काठे पुल बनाऔँ भनेर दोस्रो पटक पुल बनाएका हौँ ।’ स्थानीय पोक्यू खोला एउटा र सर्दीमा एउटा काठे पुल निर्माण भएको गुरुङको भनाई छ ।
सर्दीमा दोस्रो पटक काठेपुल निर्माण भएसँगै चुमउपत्यकाको पदमार्ग पूर्ण रुपमा खुल्ला भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । लामाका अनुसार गत हप्तादेखि नै काठे पुलमा आवतजावत सुरु भैसकेको छ ।
अस्थायी आवतजावतका लागि गाउँपालिकाको विपद् कोषबाट उक्त काठेपुल निर्माण भएको उनले जानकारी दिए ।
‘गाउँलेले बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म खटेर काम गरे । उनीहरुको पारिश्रमिक गाउँपालिकाले व्यहोर्छ’, अध्यक्ष लामाले भने, ‘उनीहरुको खाना, खाजाको खर्च चुमनुब्री वडा नं ६ र ७ का मनकारी, समाजसेवीहरुले दिनुभएको छ ।’
सबैको साथ र सहयोगले सर्दीमा दोस्रो पुल बनाउने काम सम्पन्न भएको लामाले बताएका छन् ।
यहाँको समस्या स्थायी रुपमा समाधान गर्न भने सर्दीभीरमा बिस्फोट गराई बाटो खोल्नु पर्ने स्थानीय गोपाल लामाको भनाइ छ ।
‘बिस्फोट गरेर सर्दीमा बाटो नखुलाई हुँदै हुदैन’, उनले भने, ‘त्यसका लागि कि प्रदेश सरकारले बजेट छुट्याउनु पर्छ, कि केन्द्र सरकारले । त्यसका लागि सबैले सबै ठाउँमा पहल
गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्