
बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा फेरि पाल टाँगेर बस्न थाले प्रभावितहरु
केही दिनअघि भीषण बाढी आएको बूढीगण्डकीको किनारका प्रभावितहरु जोखिम मलेर फेरि बाढीग्रस्त क्षेत्रमा पाल टाँग्दै बसोबास गर्न थालेका छन् । विशेषगरी धार्चे गाउँपालिकाका खोत्राङ, ओढार तथा यारुमा त्रिपाल टाँग्दै बसोबास गर्न थालेका पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
सुरक्षित स्थलमा शिविर बनाएर बसोबास गर्न आग्रह गरे पनि अटेर गरी पीडितहरु जोखिम ठाउँमै पाल टाँगेर बस्न थालेका गाउँपालिकाको भनाइ छ । गत असोज २५ गतेको भीषण बाढीले बगाई ल्याएको लेदोमाथि त्रिपाल टाँगेर चिया, पानी बेच्न थालेका पालिकाका अध्यक्ष गुरुङले बताए ।
‘बाढीले त्यत्रो जनधनको क्षति ग¥यो । घरबास उठायो । पुल, बाटो बगाएर यत्तिका वितण्डा मच्चाएको तीन साता बित्न पा’छैन मान्छेहरु नदी किनारमा पाल टाँग्न थालिसके’, उनले भने, ‘गाउँपालिकाले विभिन्न तीन ठाउँमा बसोबास गर्न शिविर बनाएको छ । त्यहाँ निशुल्क खाने, बस्ने बन्दोबस्त गरेको छ तर अटेरी गरी प्रभावितहरु फेरि नदी किनारमा बस्न थालेका छन् । बाढीले उठिबास गराउँदा पनि कस्तो नचेतेका ।’ नदी किनारका सार्वजनिक जग्गा ओगटेर पसल थाप्न हानाथाप गर्न थालेका उनको भनाइ छ ।
‘पर्यटक हिँड्ने पदमार्ग भएकाले बाटोको छेउमा पाल टाँगेर चिया, पानी बेच्न बसेका हुन् । आयमुलक काम गरेर जीवन निर्वाह गर्न खोज्नु त राम्रो हो, तर जीवन रहे पो धन कमाएको काम लाग्छ’, गाउँपालिकाका अध्यक्ष गुरुङ भन्छन्, ‘नदीको के भर छ र ? जुनबेला पनि बाढी आउन सक्छ । अस्तिजस्तै सोहोरेर लैजान सक्छ । त्यसैले नदी किनारमा बस्नु हुँदैन । पालिकाले बस्न दिँदैन ।’
नदीको किनारमा जोखिम मलेर बस्नेको संख्या दिनानुदिन बढ्न थालेपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी त्यसो नगर्न आग्रह गरेको छ । ‘मानवीय क्षति रोक्नु र नागरिकको जीवन रक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, पालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले सम्भावित ठूलो जोखिमबाट बच्नका लागि जोखिमयुक्त तथा असुरक्षित स्थानमा बसोबास गरिरहनुभएका सम्पूर्ण प्रभावित नागरिकहरूलाई तत्काल उक्त स्थानहरू छाडी गाउँपालिकाले तोकेका सुरक्षित स्थान वा अस्थायी शिविरहरूमा स्थानान्तरण भइदिनुहुन आग्रह गरिन्छ ।’
पालिकाले वडा नं. १ को उम्चेत, वडा नं. ३ खोर्लावेशीको चउर र वडा नं. ५ को माछाखोला कवर्डहल क्षेत्रमा निर्माण गरिएको शिविरमा बसोबास गरिदिन विस्थापितहरुलाई आग्रह गरिएको पालिकाको सूचनामा उल्लेख छ । त्यहाँ बस्नेहरुलाई खाने, बस्ने, लत्ताकपडा सबैको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
बाढीबाट प्रभावित भएका नागरिकहरूलाई तत्काल राहत सामग्री वितरण, अल्पकालीन व्यवस्थापन तथा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण र पुनस्थापनाका लागि गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न गैरसरकारी संघ संस्था, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको व्यहोरा सबैमा जानकारी गराइन्छ ।




