| शुक्रबार, कार्तिक १३, २०८३

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले आगामि तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ । यही विहिबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले पदयात्रा गर्न रोक लगाएको हो ।

‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले संभावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ’, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति बिहिबारबाट लागु नहुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराईन्छ ।’

साथै ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक लगायत सम्पूर्ण सरोकारवालाले माताहतका पर्यटकहरुलाई सूचित गरिदिन पनि प्रशासनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्