
धार्चेको केही गाउँबस्ती अझै अन्धकारमै, सञ्चार सेवा ठप्प, जनजीवन कष्टकर
प्रतीक्षा आले ।
बूढीगण्डकीमा विनाशकारी बाढी आएको झण्डै तीन हप्ता बितिसक्दा पनि धार्चे गाउँपालिकाको केही गाउँबस्तीमा भने अझै पनि अन्धकारमै छ । बाढीले गाउँ जाने पुल बगाउँदा आवतजावत र खाद्यान्न ढुवानी हुन सकेको छैन । बाढीका कारण विद्युत सेवा अबरुद्ध हुँदा विकट गाउँबस्तीको जनजीवन झनै कष्टकर बनेको हो ।
धार्चे गाउँपालिकाको वडा नं १ हुल्चुक र वडा नं ३ उहियामा बाढी गएयता विजुली नबलेको पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । विद्युत सेवा नहुँदा उहियास्थित नेपाल टेलिकमको टावरले काम नगरेको र वरपरका गाउँबस्ती सञ्चार सम्पर्कविहिन बनेको उनले जानकारी दिए ।
‘मोबाइल त जसोतसो वडा कार्यालय, विद्यालय र स्वास्थ्यचौकीमा भएका सोलार व्याकअपमार्फत चार्ज गरिन्थ्यो तर टावर नै नटिपेपछि सञ्चार सेवा ठप्प बन्यो’, उनले भने । उनका अनुसार उहियाको मोबाइल टावरले काम नगर्दा विजुली सुचारु भएका रुन्चेत र माछाखोला क्षेत्रमा समेत फोन सम्पर्क र फोर जी सेवा सुचारु हुन सकेको छैन ।
गत असोज २५ गते चुमनुब्री गाउँपालिका ६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनेपछि बूढीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुग्यो । बाढीले तल्लो क्षेत्रमा मात्र नभई माथिल्लो गाउँबस्तीमा समेत क्षति पु¥याएको धार्चे १ का वडाअध्यक्ष रामसिंह गुरुङ बताउँछन् ।
उनी भन्छन्, ‘बाढीको प्रत्यक्ष असर तटीय क्षेत्रका बासिन्दासँगै माथिल्लो गाउँबस्तीका बासिन्दाले पनि भोग्नु परेको छ । यसअघि दोभानको पुल तरेर आधाघण्टामा हुल्चुक गाउँ पुगिन्थ्यो । बाढीले पुल बगाएपछि दुईदिनको बाटो हिँडेर गाउँ आउनुपर्ने बाध्यता आयो ।’ हाल धार्चे १ का बासिन्दाहरु दोभानमा काठेपुल राखेर जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको वडाअध्यक्ष गुरुङले बताएका छन् ।
बाढीले विकटका गाउँबस्तीलाई आवतजावतसँगै सञ्चारबाट पनि बञ्चित गराएको छ । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका छन् । त्यसक्षेत्रमा यही हप्ता मात्र केही संघसंस्थाहरुले सोलार बत्ति वितरण गरेका छन् । हालसम्म प्राप्त भएका सोलार बत्तीहरु अपुग भएपनि त्यसले ठुलो राहत पुगेको हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङको भनाई छ ।
‘बत्ती त व्यक्ति पिच्छे आवश्यक पर्ने कुरा हो तर एक घर, एक बत्ती पु¥याउन सक्ने पनि अवस्था छैन् । केही नहुनु भन्दा यही पनि ठिकै छ’, उनले भने, ‘हुल्चुकमा यो वर्ष दशैँ नै आएन, खाना खाने चामल पनि पु¥याउन गाह्रो थियो । न बत्ती, न फोन टावर, न नेट चलाउन पाइयो । यसपालिको दशैँ अन्धकारमै बित्यो ।’
धार्चे ३ उहियाका गाउँबस्तीहरु पनि राहतमा आएको सोलार बालेर गुजारा चलाउन बाध्य रहेको स्थानीय दुङ्ला आधारभुत विद्यालयका शिक्षक जितलाल गुरुङले जानकारी दिए । ‘संस्थाले दिएको सोलारमा पनि ठुलो मोबाइल चार्ज हुँदैन । न यहाँ फोन टावर नै टिप्छ’, उनले भने, ‘दुङ्ला गाउँका ८०–८५ घरधुरीले दुङ्ला आविमा रहेको एक किलोवाट क्षमताको सोलारमा मोबाइल चार्ज गर्छन् । उहिया गाउँकाले भने स्वास्थ्य चौकीमा राखिएको चार किलोवाट क्षमताको सोलारले मोबाइल चार्ज गर्छन् ।’
सोतसो फोन चार्ज भएपनि फोनसम्पर्क भने कष्टकर झैँ बनेको उनले उल्लेख गरे । गाउँलेहरु फोन सम्पर्कका लागि माथि माथि डाँडामा धाउनुपरेकोे उनको भनाइ छ । विद्युत नहुँदा सञ्चार र कुटानी पिसानी जस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुनु परेको जितलाल गुरुङको गुनासो छ ।
बाढीले विजुलीको पोल बगाउँदा धार्चे १ र ३ अझैँपनि विद्युत विहीन छ । उहियाको टावरमा विद्युत नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको छ ।




