| शुक्रबार, भदौ १८, २०८३

सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न रास्वपाको माग

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, गोरखाले खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न माग गरेको छ । उपभोक्ताका लागि कृत्रिम अभाव सिर्जना गरी ठगी गर्ने अनि सिलिण्डरमा उपकरणको प्रयोग गरी ग्यास चोरी गर्ने व्यापारीलाई सख्त कारबाही गर्न माग गरेको हो ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा गोरखाले ग्यासको कालो बजारी गर्नेहरुलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । ‘प्राप्त प्रमाणअनुसार केही व्यापारीहरुले बिक्री गरेको एलपी ग्यासका सिलिण्डरहरुमा तोकिएको मापदण्डभन्दा ४ देखि ५ केजीसम्म कम ग्यास रहेको पाइएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘विपदको यस्तो कठिन अवस्थामा नागरिकको बाध्यताको फाइदा उठाउँदै कम तौलको ग्यास बिक्री गर्नु गम्भीर उपभोक्ता ठगी तथा गैरकानुनी हो ।’

जिल्ला प्रशासन कार्यालयल, नेपाल आयल निगम, स्थानीय तह तथा उपभोक्ता हित संरक्षण सम्बन्धि निकायहरुले तत्काल बजार अनुगमन गर्नुपर्ने र दोषी व्यापारी तथा सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने माग रास्वपा गोरखाको छ । आम उपभोक्ताहरुले पनि एलपी ग्यास खरिद गर्दा तौल, मूल्य र सिलबन्दी अनिवार्य रुपमा जाँच गर्न र कम तौल वा अनियमितता भएको भेटिएमा तत्काल उजुरी गर्न पार्टीले आग्रह गरेको छ ।

कम तौलको एलपी ग्यास सम्बन्धि घटनाको दोषी प्रमाणित भएका व्यवसायी र ग्यास भण्डारण स्थल समेत मापदण्ड नपुगेको विषयमा छिटो भन्दा छिटो कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने रास्वपाको विज्ञप्तीमा उल्लेख छ । ‘सामाजिक अभियन्ता माथि कम तौलको ग्यास सम्बन्धि विषय उठान गरेको कारण आर्थिक प्रलोभन देखाई, प्रलोभन अस्वीकार गर्दा धम्कि समेत आएको घटना प्रति स्थानीय प्रशासन ध्यान जावोस्’, विज्ञप्तिमा भनिएको छ ।

सम्बनिधत निकायले प्रभावकारी अनुगमन र कारबाही नगरेमा रास्वपा गोरखा प्राप्त प्रमाणसहित थप सार्वजनिक तथा कानुनी पहल गर्न बाध्य हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्