
उत्तरपुस्तिका पुनपरिक्षण र शक्ति माविमाथि कारबाहीको माग, निष्पक्ष छानबिन गर्न शक्ति माविको चुनौति
प्रतीक्षा आले । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै गोरखाका ६ वटा विद्यालयहरुले उत्तरपुस्तिका पुनपरीक्षण गर्न र परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन् । सदरमुकामस्थित शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा दिएका ६ विद्यालयहरुले परीक्षा संचालन र उत्तरपुस्तिका परीक्षणमा चरम लापरबाही गरेको भन्दै पुनपरीक्षणको माग गरेका हुन् ।
गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारस्थित महालक्ष्मी मावि, गोनपा–१० को रत्नराज्य मावि, पालुङटार नगरपालिका–९ को त्रिवेणी मावि, आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी मावि, भिमसेनथापा गाउँपालिका–६ अश्राङको नवजागृती चण्डी मावि तथा गण्डकी गाउँपालिका–६ घ्याल्चोकको ज्ञानमार्ग माविले संयुक्त विज्ञप्ती जारी गर्दै एसईई उत्तरपुस्तिकाको पुनपरीक्षण हुनुपर्ने माग गरेका हुन् ।
उनीहरुले विज्ञप्तिमार्फत शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा भई उत्तरपुस्तिका परीक्षण भएका गणित, विज्ञान र भूगोल विषयको उत्तरपुस्तिकामा लापार्बाही भएको भन्दै पुनपरीक्षण गर्न माग गरेका हुन् । शक्ति मावि परीक्षा केन्द्रले दमनात्मक र वैरभावपूर्ण लक्ष्यका साथ परीक्षा संचालन र गैरविषयात्मक शिक्षकबाट उत्तरपुस्तिका परीक्षण गरेको विद्यालयहरुको आरोप छ । जसले गर्दा पालिका र जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुको नतिजा अति निराशाजनक देखिएको उनीहरुको गुनासो छ । विद्यालयहरुले शक्ति मावि परीक्षा केन्द्रलाई आवश्यक कारबाही गर्न समेत माग गरेका छन् ।
‘शक्ति माविले विद्यालयका साविक उमावि भौतिक विज्ञान शिक्षक जो कक्षा १० को गणित विषयमा नियमित पठनपाठनमा संलग्न नभएको तिलक केसीलाई गणित विषयको उत्तरपुस्तिकाको जिम्मा दिई पूर्वाग्रही रुपले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको’, विद्यालयहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी, विज्ञान विषयको उत्तरपुस्तिका पनि पूर्वाग्रही रुपमा परीक्षण गरेको तथा भूगोल विषयमा गैरविषयका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिएको विद्यालयहरुको आरोप छ ।
यसबारे आवश्यक छानबिन गरेर कारबाही गर्न तथा आगामि वर्षहरुमा शक्ति मावि परीक्षा केन्द्रलाई रद्ध गर्न विद्यालयहरुले माग गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख विश्वप्रकाश रेग्मीले घटनाबारे आवश्यक छलफल तथा निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्ने बताए । ‘बोर्डले केही उत्तरपुस्तिकाको नमूना हेरेर निर्णय गर्ने हो । यस घटनामा विद्यालयहरुको एसईई नतिजा पुनर्योग गर्छ यदि विद्यालयहरुलाई त्यसमा पनि चित्त नबुझे पुनपरीक्षण हुनसक्छ’, उनले भने ।
यता शक्ति मावि केन्द्रले भने परीक्षा व्यवस्थापन तथा अनुगमनका क्रममा सर्वत्र प्रशंसनीय बनेको आफ्नो विद्यालय र परीक्षाकेन्द्रमाथि लगाइएका आरोप झुटो र पूर्वाग्रही रहेको बताएको छ । उ्रक्त परीक्षा केन्द्रले निष्पक्ष एवं सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ । आफूहरु छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्न ‘हरपल तत्पर’ रहेको सो विद्यालयले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।




