
रासायनिक मल व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय छलफल सम्पन्न
गोरखामा रासायनिक मल बिक्री, वितरण तथा व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय छलफल सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा बुधबार छलफल सम्पन्न भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए ।
जिल्लामा रासायनिक मल अभावको अवस्थालाई मध्यनजर गर्दै जिल्लास्तरीय छलफल आयोजना गरिएको उनले जानकारी दिए । ‘रासायनिक मलमो वर्तमान अवस्था तथा आगामि दिनमा जिल्लाको रासायनिक मलको माग तथा आपूर्तिलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको हो’, उनले भने, ‘कार्यक्रममा स्थानिय तह मल वितरण व्यवस्थापन समितिहरुले पालिकाहरुमा रासायनिक मलको अभाव भएको गुनासो गर्नुभएको थियो ।’ हाल जिल्लामा मलको अभाव रहेको र तत्कालका रासायनिक मल आउने अवस्था पनि नरहेको उनी बताउँछन् ।
कृषि ज्ञान केन्द्र गोरखाले जिल्लामा बढ्दो रासायनिक मलको मागलाई मध्यनजर गर्दै जिल्लाका लागि मलको कोटा बढाउन प्रदेश सरकारलाई निवेदन गरेको कार्यालय प्रमुख तिवारीले बताएका छन् । किसानहरुले फोस्फेट र पोटास्को सट्टा युरिया मल मात्र अधिक प्रयोग गरेका कारण पनि अभाव बढेको उनको भनाई छ ।
‘तीनै रासायनिक मलहरुको आ–आफ्नै विशेषता छ तर किसानहरु नबुझेर युरिया मल मात्र अधिक प्रयोग गर्छन् । जसका कारण युरिया मलको अभाव पनि बढेको छ र कृषि क्षेत्रलाई पनि हानी पुगेको छ’, उनले भने । कृषि ज्ञान केन्द्रले प्रत्यक पालिकाहरुमा रासायनिक मल, यसका किसिम, बिशेषता र प्रयोग लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय कार्यक्रममा भएको उनको भनाई छ ।
तिवारीका अनुसार कार्यक्रममा रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय भएको छ । बैठकमा सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’को बारेमा समेत छलफल भएको तिवारीको भनाई छ ।
कार्यक्रममा पालिका उपाध्यक्षहरुको संयोजकत्वमा गठन भएको स्थानीय तह मल वितरण व्यवस्थापन समितिले रासायनिक मलको न्यायोचित र पारदर्शी वितरणमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा समेत छलफल भएको थियो ।




