| सोमवार, बैशाख १३, २०८३

गोरखामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराउँछन्, ‘ल्याक्टोजेन’ दुध प्रयोग नगर्न आग्रह

जिल्लामा ८२ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराउने (जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने) गराउने गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार जिल्लाका १८ प्रतिशत आमाहरुले शिशुलाई पूर्ण स्तनपान नगराएको पाइएको हो ।

शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम अथवा अपूर्ण स्तनपान गराएको पाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । ‘शिक्षित र जागिरे आमाहरुले नै पूर्ण स्तनपान नगराएको देखिन्छ’, उनले भने, ‘आमाहरु व्यस्तपनका कारण बच्चालाई बजारको बट्टामा पाइने दुध (ल्याक्टोजेन) खुवाउन बाध्य छन् ।’

सरकारले महिलाहरुलाई तीन महिना सुत्केरी बिदा दिने गरेको छ । जसका कारण जागिरे महिलाहरुले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन नसकेको खड्काले जानकारी दिए । आर्थिक अवस्था सबल भएका परिवारहरुले पनि पूर्ण स्तनपान नगराउने विषय गम्भीर रहेको उनी बताउँछन् ।

खड्का भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका परिवारको स्तनपान गराउनु बाहेक अन्य विकल्प हुँदैन । आर्थिक रुपमा सबल परिवारले बजारमा पाइने बट्टे दुध किन्न सक्छन् । त्यसैले, त्यस्ता परिवारले आमाको दुधसँगै ल्याक्टोजेनमा पनि जोड दिन्छन् ।’ शिशुहरुलाई ल्याक्टोजेन खुवाउन सुरु गरेपछि उनीहरुले बिस्तारै आमाको दुध नखाने खड्का बताउँछन् ।

‘ल्याक्टोजेनमा चिनी मिसाएको हुन्छ । बच्चाले गुलियो ल्याक्टोजेन खान थालृपछि उसलाई आफ्नो आमाको दुध खल्लो लाग्छ र उ खान मान्दैन’, उनले भने । बच्चाले स्तनपान नगरेपछि बिस्तारै आमाको दुध नआउने जसकाकारण बच्चाहरु ल्याक्टोजेन मात्र खाएर हुर्कने समस्या पछिल्लो समय देखिएको उनको भनाई छ ।

प्रदेश अस्पताल गोरखाका बाल रोग विशेषज्ञ डाक्टर प्रकाश शर्माले बजारमा पाइने बट्टेदूध (ल्याक्टोजेन) बालबालिकाहरुको शारीरिक र मानसिक बिकासका लागि हानिकारक रहेको बताए । पूर्ण स्तनपान गराउनाले बच्चासँगै आमाको स्वास्थ्यमा पनि सुढृण हुने उनले जानकारी दिए ।

‘पूर्ण स्तनपान गराएमा सुत्केरी आमाको शरीर पुनः स्वस्थ हुँदै जान्छ । पूर्ण स्तनपान गराउँदा बालबालिकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै उनीहरुमा एन्डिबडीको बिकास हुन्छ’, डाक्टर शर्माले भने । पूर्ण स्तनपान गराउनाले ‘स्तन क्यान्सर’ जस्तो घातक रोग रोकथाम गर्न सकिने उनको भनाई छ । यस्तै, बालबालिकाहरुमा कम तौलको समस्या रोकथाम गर्ने उनले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार गोरखामा ९ प्रतिशत बालबालिकाहरु कम तौलका छन् । पूर्ण स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्य राम्रो हुने भएपनि यो दर केही वर्ष यता घटेको छ । नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको संख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताएका छन् ।

स्तनपानका लागि जन्मेको एक घण्टाभित्र, छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने तीन वटा व्यवहार सिफारिस गरिएको छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशन कमी आउँछ ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ आमाको दूधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले कार्यक्रममार्फत स्तनपान परामर्शदाता तालिम दिने तयारी समेत गरिरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले बताइन् । नेपालमा प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइने गरिन्छ । दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ९० प्रतिशत बढी पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्