
गण्डकी प्रदेश सरकार र गोरखाका स्थानीय तह प्रमुखहरु बीच अन्तरक्रिया
गोरखाका स्थानीय तह र गण्डकी प्रदेश सरकारबीच समन्वय र अन्तरसम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । आर्थिक मामिला मन्त्रालयले शुक्रबार गोरखामा ‘प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम’को आयोजना गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । गोरखाका ११ वटै नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए ।
कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रम तथा स्थानीय तहले सञ्चालन गरेका कार्यक्रम बीच तादात्म्यता मिल्नु पर्नेमा जोड दिइएको थियो । प्रदेश सरकारले सञ्चालन गरेका योजना तथा कार्यक्रम लामो समयदेखि अलपत्र अवस्थामा रहेको बारे पालिका प्रमुखहरुले टिप्पणी गरेका धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले जानकारी दिए । त्यस्तै प्रदेश र स्थानीय तह दुवै निकायले कार्यक्रम तय गर्दा डुप्लिकेशन नहुने गरी गर्नुपर्नेमा पनि जोड दिइएको उनले बताए ।
प्रदेश सरकारले सञ्चालन गरेका पूर्वाधार निर्माणका योजनामा प्रयोग भएका ढुंगा, गिटी, बालुवाजस्ता सामग्रीको राजस्व पालिकालाई तिर्नुपर्नेमा बिभिन्न कारण देखाई नतिर्ने गरेकोबारे पालिका प्रमुखहरुले टिप्पणी गरेका सहिद लखन गाउँपालिका प्रमुख रमेश थापाले बताए ।

संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहअस्तित्वलाई सुदृढ गर्दै प्रभावकारी बजेट विनियोजन र कार्यान्वयनमार्फत दिगो विकास हासिल गर्नुपर्नेमा खानेपानी तथा उर्जामन्त्री न्यौपानेले जोड दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले पालिका प्रमुखहरुले उठाएका सवालहरुका बारेमा जवाफ दिएका थिए ।




