| बुधबार, बैशाख २९, २०८३

निर्माण आपतकाल घोषणा गर्न माग

निर्माण व्यवसायी गोरखाले विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै निर्माण आपतकाल घोषणा गर्न माग गरेको छ । संघका अध्यक्ष सूर्य भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगले चरम संकट भोग्नु परेकाले आपतकाल घोषणा गर्न माग गरेका हुन् ।

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक अत्याधिक मूल्यवृद्धि भइरहेको भन्दै संघले यसलेगर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाको छ । निर्माण कार्यमा प्रयोग हुने इन्धनजन्य सामाग्री तथा बिटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण उद्योग थप आक्रान्त भएको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकको मूल्य सूचकाङ्कअनुसार ठेक्काको मूल्य समायोजन हुने भएकाले बजारमा निर्माण सामग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माण कार्य तीव्र रुपमा हुने वर्तमान समयमै इन्धन तथा निर्माण सामग्रीहरूमा देखिएको अभाव तथा निरन्तर भइरहेको मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको भन्दै संघले निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन जोडदार माग गरिएकोछ ।

प्रत्येक आयोजनामा मूल्यवृद्धि भए तापनि विद्यमान कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका २ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न संघले अपील गरेको छ । अन्यथा यही अवस्था रहिरहे निर्माण कार्य पूर्ण रुपमा रोकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्