| बुधबार, साउन १२, २०८३

गोरखा लक्ष्मीबजारमा ११ हजार किलोग्राम कालो हलेदो उत्पादन

गोरखामा ११ हजार किलोग्राम कालो हलेदो उत्पादन भएको छ । बी एण्ड बी कृषि फर्मले गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा लगाएको बारीबाट ११ टनभन्दा धेरै परिमाणमा कालो हलेदो उत्पादन गरेको हो ।

औषधीका रुपमा प्रयोग गरिने कालो हलेदो सो कम्पनीको पहिलो उत्पादन हो । उत्पादित हलेदो गोपाल एग्रो काठमाडौंले बारीमै आएर खरिद गरी लगेको उत्पादक कृषि फर्मका सञ्चालक यादव बस्नेतले जानकारी दिए । ‘आइतबार अन्तिम खेप पठायौं’, बस्नेतले भने, ‘सबै हिसाबकिताब गर्दा ११ हजार किलोभन्दा धेरै उत्पादन भएको देखियो । पहिलो बर्ष हामीले लगानी उठायौं । आउँदो बर्ष दोब्बर नाफा हुने विश्वास छ ।’ गतबर्ष यहाँको २५ रोपनी क्षेत्रफलमा सातसय किलोग्राम कालो हलेदोको बिउ रोपेको उनले बताए । जसबाट २३ हजार बिरुवा उम्रिएको थियो ।

‘गतबर्षको बैशाखमा रोपेका थियौं । १० महिनामा भित्र्याउन लायक हुने रहेछ’, उनले भने, ‘खन्ने, सरसफाइ गर्ने र बेच्न लायक बनाउँदा एक महिना बित्दो रहेछ ।’ आउँदो बर्षका लागि बैशाख महिनाभित्र फेरि रोपिसक्ने उनको भनाइ छ । ‘आउँदो बर्षका लागि खनजोत गरेर मल राखिसकेका छौँ’, उनले भने, ‘अब बैशाख महिनाभित्र रोपिसक्छौं ।’

बाँझो बसेको २५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको यादव बस्नेतले बताएका छन् । यादव बस्नेत र कविता अर्यालले सञ्चालन गरेको सो कृषि फर्मले करिब ५० लाख लगानीमा ‘बि एण्ड बि कृषि फर्म नाम दिएर कालो हलेदोको खेती गरेका हुन् । दोलखाबाट सातसय केजी बिउ ल्याएर कालो हलेदो रोपेको बि एण्ड बि कृषि फर्मकी संचालक कविता अर्यालले बताइन् ।,

‘प्रतिकेजी ३ हजार रुपैँयाका दरले सातसय किलो बिउ किनेका थियौँ । यसलाई रोप्ने, गोडमेल र मलजलमा बढी खर्च भयो । हामीले कुनै किसिमको रासयनिक खौषधी प्रयोग नगरी अर्गानिक रुपमा हलेदो खेती गरेका छौँ ।’ कालो हलेदोले शरीरको रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्ने अर्यालले बताएकी छिन । साथै यसलाई क्यान्सर, हाड तथा विभिन्न छाला सम्बन्धी रोगहरु र स्त्री रोगको औषधीका रुपमा प्रयोग गरिने उनको भनाइ छ ।

कालो हलेदोको गानो मात्र नभएर यसको पातलाई पनि औषधीका रुपमा प्रयोग गर्न सकिने बि एण्ड बि कृषि फर्मका अर्का संचालक यादव बस्नेत बताउँछन् । ‘यसको पातलाई सुकाई प्रशोधन गरेर चियाको रुपमा प्रयोग गर्न सकिन्छ’, उनले भने ।
उनीहरुले गत बैशाखमा मात्र कालो हलेदो रोपेका थिए । यसको बजार व्यवस्थापनका लागि सम्बन्धित कम्पनीसँग अग्रिम सम्झौतासमेत गरिसकेका थिए । आफूहरु नेपालमै सबैभन्दा ठूलो स्केलमा कालो हलेदो खेती गर्ने कृषक रहेको अर्याल र बस्नेतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्