
किसानको वर्गिकरणका लागि आवेदन संकलन शुरु
दरांैंदी समाचारदाता : गोरखामा किसानको वर्गिकरणका लागि आवेदन संकलन शुरु भएको छ । वास्तविक कृषकको पहिचान गरि वर्गिकरण गर्ने गण्डकी प्रदेश सरकारको योजना अनुसार जिल्लामा आवेदन संकलन शुरु भएको हो । जिल्लाका ११ वटै स्थानीय तहका हरेक वडा कार्यालयमा किसानले आवेदन बुझाउन सक्ने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । आवेदनको ढाँचा सबै वडा कार्यालयमा पठाइसकिएको केन्द्रका प्रमुख दूर्गाप्रसाद पण्डितले जानकारी दिए । ‘आवेदन भर्ने क्रममा किसानलाई सहजीकरण गर्नका लागि स्थानीय तहमा खटिएका कृषि प्राविधिकहरुलाई पनि अभिमुखीकरण गरिएको छ’ उनले भने ‘एक वर्षभित्र आवेदन संकलन र वर्गिकरणको काम गरिसक्ने गण्डकी प्रदेश सरकारको लक्ष्य अनुसार काम शुरु गरेका हौं । ’ पूर्ण रुपमा खेतीपातीको काम नगर्नेहरुले पनि किसानको नाममा अनुदान लगायतका लाभ लिन थालेपछि प्रदेश सरकारले वास्तविक किसानको पहिचान खोज्न थालेको हो । प्रदेश अन्तर्गतको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक वर्गिकरण सम्वन्धी छुट्टै कार्यविधि बनाएको छ । किसान पहिचान र वर्गिकरण नाम दिइएको कार्यविधि एक महिना अघि पारीत भैसकेको छ । कार्यविधि अनुसार किसानहरुले प्रदेश सरकारले बनाएको फाराम भरेर आफ्नो नाम वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ । जसमा किसानले गर्दै आएको कृषि ब्यवसायको विवरण, परिवार संख्या र त्यसमध्येका रोजगार कति छन् भन्ने विवरण भर्नुपर्नेछ । यस्तै किसानको आम्दानी, उसले गरेको उत्पादनले लाभान्वित हुने जनसंख्या लगायत विवरण पनि भर्नुपर्नेछ ।




