
गोरखा २ को मतगणना सुरु
गोरखा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । शुक्रबार दिउँसो साढे १ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको हो ।
गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना भैरहेको बताइएको छ । पहिले प्रत्यक्षतर्फको मतगणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । शुक्रबार बिहान बसेको सर्वदलिय बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।
‘प्रत्यक्षको मतगणना सकेपछि मात्र समानुपातिक मत गणना सुरु हुन्छ,’ उनले भने, ‘पालिकाको वडागत रुपमा मतगणना गर्दै जान्छौँ ।’ सर्बदलिय बैठकले मतगणना स्थलमा एउटा उम्मेदवारको एक जनामात्र प्रतिनिधि बस्न पाउने व्यवस्था गरेको उनले बताएका छन् । ‘एक उम्मेदवारको दुई जनासम्म प्रतिनिधि हुन्छन्, तर एकपटकमा एक जना मात्र बस्न पाउने व्यवस्था गरेका छौँ’, उनले भने ।
बिहीबार सम्पन्न निर्वाचनमा गोरखामा कुल १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो जिल्लाको कूल मतदाता संख्यामध्य ५२.९३ प्रतिशत हो । कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एकलाख २० हजार ५२५ मतदाता रहेको क्षेत्र नं १ मा ६४ हजार पाँच (५३.११) प्रतिशत मत खसेको छ । यसैगरी, एकलाख आठहजार ५३३ मतदाता रहेको क्षेत्र नं २ मा ५७ हजार २५८ (५२.७६) प्रतिशत मत खसेको निर्वाचन कार्यालयको भनाई छ ।
जिल्लामा २०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको थियो । यस्तै, २०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गोरखामा मतदान गर्न २२५ मतदान स्थल र ३३३ मतदान केन्द्र निर्धारण भएका थिए । एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र थिए ।




