| शनिबार, फाल्गुन २२, २०८२

गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

गोरखा जिल्लामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले गोरखा–२ को मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना हुने बताइएको छ ।गोरखा–१ को भने सबै मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ । हेलिकप्टरबाट ढुवानी गर्ने तयारी भएपनि खराब मौसमका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।

काठमाडौंमा सेनाको हेलिकप्टर तयारी अवस्थामा छ,’ उनले भने, ‘तर खराब मौसमका कारण उड्न सकेको छैन । गोरखा–२ का सबै मतपेटिका संकलन भइसकेकाले मतगणना सुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए । प्रत्यक्षतर्फको मतगणना पहिले गरिने उनले जानकारी दिए ।

पहिले प्रत्यक्षको गन्छौँ अनि सकेपछि समानुपातिक मत गणना सुरु हुन्छ,’ उनले भने, ‘सम्बन्धित पालिकाको वडागत रुपमा मतगणना गर्दै जान्छौँ ।’ मतगणना स्थलमा एउटा उम्मेदवारको एक जनामात्र प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने, ‘एक उमेदवारको दुई जनासम्म प्रतिनिधि हुन्छन्, तर एकपटकमा एक जना मात्र बस्न पाउने व्यवस्था गर्छौँ ।

’बिहीबार सम्पन्न निर्वाचनमा गोरखामा कुल १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा–१ मा ६४ हजार ५ र गोरखा–२ मा ५७ हजार २५८ मत खसेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।

उनका अनुसार गोरखा–१ मा १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ कुल मतदाता संख्या हुन् । जिल्लाको कुल मतदाता संख्या भने २ लाख २९ हजार ५८ रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्