
प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न, ५२.९३ प्रतिशत मत खस्यो
गोरखामा प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ३३१ मतदानकेन्द्र र २ अस्थायी मतदानकेन्द्रमा कतैपनि छिटपुट घटनासमेत नभै शान्तिपूर्णपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
गोरखाको कूल मतदाता संख्यामध्य ५२.९३ प्रतिशत मत खसेको छ । कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एकलाख २० हजार ५२५ मतदाता रहेको क्षेत्र नं. १ मा ६४ हजार पाँच अर्थात ५३.११ प्रतिशत मत खसेको छ । त्यस्तै एकलाख आठहजार ५३३ मतदाता रहेको क्षेत्र नं. २ मा ५७ हजार २५८ मत अर्थात ५२.७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
२०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
२०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको थियो ।
निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए ।
गोरखामा मतदान गर्न २२५ मतदान स्थल र ३३३ मतदान केन्द्र निर्धारण भएका थिए । एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र थिए । कुल मतदाता संख्यामध्ये गोरखा १ मा १ लाख २० ५२५ र गोरखा २ मा १ लाख ८ हजार ५३३ मतदाता थिए ।
मतदान सकिएसँगै मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म ल्याउने काम धमाधम भइरहेको एसपी बिकको भनाइ छ । तल्लो भेगका मतदान केन्द्रका मतपेटिका बिहिबार रातभरि ढुवानी गर्ने र हिमाली भेगका २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फ शुक्रबारसम्म ल्याइसक्ने एसपी बिकले जानकारी दिए ।
मतगणनाका लागि तारजाली र सीसीटिभीजडित मतगणनास्थल तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गोरखा–१ को मतगणना जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।




