
गोरखाका दुई स्थानीय तहलाई नवप्रवर्तन कार्यक्रम
गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि गोरखाका दुईसहित आठ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा परियोजना स्वीकृत भएको हो ।
गोरखा नगरपालिकाले मटका होमस्टे परियोजना छनोट गरेको छ भने सहिद लखन गाउँपालिकाले मनकामना मन्दिर क्षेत्रको फोहोरमैला व्यवस्थापन परियोजना छनोट गरेको छ । छनोट भएका परियोजनाका लागि प्रदेश सरकारको तर्फबाट ६ करोड २१ लाख रुपैयाँ अनुदान प्रदान गरिने र बाँकी रकम सम्बन्धित स्थानीय तहले नै व्यहोर्नुपर्ने सम्झौता छ ।
प्रस्ताव गरिएका परियोजनाहरू निर्धारित समयभित्रै प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । प्रदेश र स्थानीय तहलाई सक्षम, उत्तरदायी र जनउत्तरदायी बनाउँदै सङ्घीयताको सफल कार्यान्वयनमा टेवा पुग्ने गरी नवप्रवर्तन कार्यक्रम लागू गरिएको पाण्डेको भनाइ छ ।
प्रदेश तथा स्थानीय शासन सवलीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमका लागि प्रदेश सरकारले ६ करोड २१ लाख रुपैयाँ अनुदान दिन लागेको हो । कार्यक्रमका लागि प्रदेशभरका विभिन्न स्थानीय तहबाट ४२ वटा परियोजनाको अवधारणा पत्र प्राप्त भएको थियो । जसमध्ये २९ वटा स्थानीय तहले पूर्ण प्रस्ताव पेस गरेका थिए ।
पेस भएका प्रस्तावहरूमध्ये मूल्याङ्कन गरी उत्कृष्ट ८ वटा परियोजनालाई स्वीकृत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । स्वीकृत भएका परियोजनाहरूमा कृषि, पर्यटन, शिक्षा, फोहोर व्यवस्थापन र उद्यमशीलता रोज्ने बढी छन् । सबै पालिकाले अनुदानका लागि सम्झौता गरिसकेका छन् ।




