
मनास्लु र ल्होत्से आरोहणको हीरक महोत्सव मनाइने
आठ हजारमिटर भन्दा अग्ला मनास्लु र ल्होत्से हिमाल आरोहणको हीरक महोत्सव मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ती दुई हिमाल आरोहणको ७० बर्ष पूरा भएको उपलक्ष्यमा हीरक जयन्ती मनाइने जानकारी दिइएको हो ।
मनास्लु हिमाल रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँमा वैशाख २६ गते हीरक महोत्सव मनाइने सो गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप), ट्रेकिङ एजेन्सीज एशोसिएशन(टान) र स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा हीरक महोत्सव मनाउने कार्यक्रम तय भएको छ’, लामाले भने, ‘महोत्सवले मनास्लुको पर्यटकीय, ऐतिहासिक, धार्मिक, प्राकृतिक महत्वलाई उजागर गर्नुका साथै नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’
८,१६३ मिटर अग्लो मनास्लु विश्वको आठौं र नेपालको सातौं अग्लो हिमाल हो । पहिलो पटक जापानी आरोही तोशियो इमानिशी र नेपाली आरोही ग्याल्जेन शेर्पाले सन् १९५६ मे ९ मा मनास्लुको सफल आरोहण गरेका थिए । दोस्रो विश्वयुद्धपछि विक्षिप्त बनेको जापानले पहिलो पटक मनास्लुको सफल आरोहण गरेपछि आत्मबल बढेको र विकासको खुट्किलोमा अघि बढेको जानकारहरु बताउँछन् । प्रथम पटक मनास्लुको सफल आरोहणकै कारण नेपाल र जापान बीच दौत्य सम्बन्ध कायम भएको पनि जानकारहरु बताउँछन् ।
हीरक महोत्सव कार्यक्रममा प्रथम आरोहीहरूको सम्झनामा सालिक अनावरण गरिनेछ । त्यस्तै अग्रज पर्वतारोही र उनीहरूको परिवारलाई विशेष सम्मान गरिनेछ । अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लुको थ्रीडी मोडेल पनि सार्वजनिक गरिनेछ । साथै, चुम उपत्यकाको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ ।
मनास्लुलाई स्थानीयबासी ‘पुंगेन’ नामले बोलाउने गर्छन् । संस्कृतमा ‘मनस’ बाट बनेको यसको अर्थ आत्मा वा चेतना भन्ने हुन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्व उल्लेख गर्दै हालसम्म ३ हजारभन्दा धेरै आरोहीहरूले उक्त शिखर आरोहण गरिसकेको जानकारी दिए । ‘मनास्लुका प्रथम आरोहीहरूको सालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, लामाले भने, ‘यसलाई मनास्लु हीरक महोत्सवका अवसरमा अनावरण गरिनेछ ।’
८,५१६ मिटर अग्लो ल्होत्से विश्वको चौंथो अग्लो हिमाल हो, जुन सगरमाथाको नजिकै खुम्बु क्षेत्रमा अवस्थित छ । ‘ल्होत्से’को अर्थ तिब्बती भाषामा ‘दक्षिण शिखर’ हो । यो हिमाल पहिलो पटक सन् १९५६ मे १८ मा स्विस पर्वतारोही अन्सर्ट राइस र फ्रिट्ज लुक्सिङगरले आरोहण गरेका थिए । सगरमाथासँग नजिक रहेको ल्होत्से पर्वतारोहणका दृष्टिले अत्यन्त चुनौतीपूर्ण मानिन्छ । विशेषगरी यसको दक्षिणी भित्तो विश्वकै कठिन आरोहणमार्गमध्ये पर्ने जानकारहरु बताउँछन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले हीरक जयन्तीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । ‘मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्ड बीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो’, उनले भने, ‘यही आधारमा अन्तर्राष्ट्रिय सहकार्य र सद्भाव विस्तार भएको हो ।’




