
सफल व्यवसायीको कहालीलाग्दो जीवनकथा
एउटा हँसिलो, रसिलो, आत्मविश्वासिलो, बोलीमा विनोदी युवा जिविसचोक गोरखामा सिलाइकटाइ व्यवसाय गर्छ । खरोखस्रो बोल्दैन, बिज्याइँ गर्दैन, कसैलाई बिजाउँदैन, बेलाबखत आइलाग्ने दुखी आत्माको बरु बेवास्ता गर्छ, बाजजुद गर्दैन । आफ्नै पाखुराको कमाइले मिठो मसिनो खान्छ, एकसरो सफेद पहिरन लगाउँछ, आफ्नै सवारी साधन चढ्छ, दुखजिलो गरी सानो परिबार पाल्छ ।
आफू आवद्ध गण्डकी प्रदेश स्तरको व्यवसायिक संगठनको नेतृत्व गर्छ, बेलाबेला समय निकालेर बोरामा दान गर्ने खाद्यान्न, लत्ताकपडा बोकेर दुरदराजको झुपडी पनि पुग्छ । मौका मिलाएर तारे होटलमा विशिष्ट व्यक्तिहरुसंग नाचगानमा पनि सामेल हुन्छ । समाजसेवा पनि गर्छ, कमाइको एकांश, दशांश दान पनि गर्छ । यसरी भनुँ २१ बर्षका एउटा युवा अहिले गोरखा नगरीमा सबैको प्रसंसामा बाँचेको छ ।
छ, सात बर्षदेखि औंला चलाएको सिलाइकटाइ पेशालाई अहिले पनि सम्मान गर्दै, अपनाउँदै आइरहेका ती युवा हुन् बालकृष्ण परियार । लियो क्लव डिस्ट्रिक्ट ३२५ जे का प्रेसिडेण्ट, टेलरिङ व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेर काम गरेका उनको वर्तमान जति चमकदार देखिन्छ, यसको विगत त्यत्तिकै अन्धकार छ ।
उनी भीमसेन थापा गाउँपालिका ४ धावा चौतारामा २०५१ सालमा जन्मेका हुन् । उनको बाल्यकाल बुबासंगै बालीघरे प्रथामा सिलाइकटाइ गरेर बित्यो । ‘पयरे मेसिन आउनुभन्दा पहिले हाते कल हुन्थ्यो । म हातले कल चलाउँथेँ, बुबा लुगा सिउनुहुन्थ्यो’, बिगत सम्झँदै उनी भन्छन्, ‘म कल चलाउने, बुबा लुगा सिलाउने गर्न थालेपछि म बिहान घाँस काट्न जान परेन । नत्र कि बिहानभर ढिकी, जाँतो गर्नुपथ्यो, कि एकभारी घाँस काटेर अनि दिउसो स्कूल जानुपर्दथ्यो । भगवती मावि पढ्थेँ । स्कूल पुग्न आधाघण्टा हिड्नुपथ्र्यो ।’
११ बर्षको उमेरमा उनी सर्ट सिलाउन जान्ने भएका थिए । फुर्सद भएका बेला बुबाले सिलाएको लुगा लुकीलुकी उधारेर फेरि सिउँदै गरेर उनले बिस्तारै लुगा सिउन सिके । ‘बिहानभरि लुगा सिउँथेँ, दिउसो स्कूल जान्थेँ’, उनी भन्छन्, ‘स्कूलका धेरै साथीका, धेरै दाइ, दिदीका लुगा मेरै हातले सिएका हुन्थे । आफुले सिएको लुगा लगाएर आएका साथी देखेपछि खुशी लाग्थ्यो । कोही सरमिसहरु बजारमा सिएको लुगा लगाएर आउनुहुन्थ्यो । त्यो आँखा गाढेर हेर्थेँ । अनि घरमा गएर त्यस्तै सिउनु प¥यो भनेर कोशिष गर्थेँ’, उनीभन्छन्, ‘यसरी नै स्कूले जीवन बित्यो । एसएलसी दिएपछि फुर्सदको समयमा म चितवन खोलेसिमलमा दाइ नाता पर्नेहरुसंग मिलेर अरु धेरै किसिमका लुगाहरु सिउन सिकेँ । त्यहाँ एउटा सर्ट सिएको एकसय रुपैयाँ हुन्थ्यो । त्यहीबाट खाने, बस्ने गर्थेँ । त्यहाँ बचेको पैसा खुत्रुकेमा साँचेर राखेँ । अनि त्यतिबेला मोबाइलको सिमकार्डलाई एघार, बाह्रसय रुपैयाँ पथ्र्यो । अनि त्यही कमाइले पहिलो पटक मोबाइलको सिमकार्ड किनेँ ।’
नवजागृति चण्डी मावि अश्राङमा कक्षा ११, १२ पढ्दा पनि सिउने व्यवसायलाई निरन्तरता दिएका थिए । व्यवसाय गर्दै पढ्दै गर्दा पनि उनले ११ मा ‘फ्याकल्टी टप’ गरे भने १२ मा ‘स्कूल टप’ गरेका थिए । जब उनी ब्याचलर पढ्न गोरखा सदरमुकाम आए त्यसपछि सुरु भयो जीवनका बास्तविक संघर्ष । ‘सरकारी क्याम्पसमा सस्तोमा पढ्न पाइन्छ भन्ने सुनेर भर्ना हुन गएको थिएँ तर दिउँसो पढाइ हुने रहेछ । आफूलाई कमाउदै पढ्दै गर्नुपर्ने बाध्यता थियो । त्यसैले फि तिर्न नसके पनि जसो पर्ला–पर्ला भनेर बिहान पढाइ हुने द्रव्यशाह क्याम्पसमा भर्ना भएँ किनभने, त्यहाँ बिहान पढेपछि दिनभर सिलाइको काम गर्न पाइन्छ भन्ने आशा थियो’, उनी भन्छन्, ‘द्रव्यशाह क्याम्पस र बम्बई टप टेलर्स एकैचोटी भर्ना भएँ । बिहान क्याम्पस जाने, रातदिन कारखानामा काम गर्ने गर्थेँ । त्यहाँ राजेन्द्र सिर्मल सरसंग भेट भयो । उहाँ दुबईतिर सिलाइकटाइ जानेर आउनु भएको रहेछ । उहाँसंग कोट सिलाउन सिकेँ ।’
राजेन्द्र सिर्मलसंगको संगतले उनको जीवनमा बिस्तारै नयाँ मोड ल्यायो । केही समयपछि राजेन्द्रसंग मिलेर बालकृष्णले आफ्नै कारखाना बनाउने निर्णय लिए । तर लगानी गर्ने पैसा थिएन । तैपनि २०७१ भदौ १५ गतेदेखि कालीमाटी टोलमा टेलर्स लोगो नाम दिएर कम्पनी दर्ता गरी कारखाना स्थापना गरे ।
‘सोम सरको पसलबाट मेसिन उधारोमा ल्यायौँ । अरु टेलर्सबाट अर्डरको कपडा ल्याएर कोट सिउने गथ्र्यौँ । हामी कोट सिएर पठाउँथ्यौँ, तर पैसा कतैबाट आउँदैनथ्यो । काम यति धेरै पाइयो कि, खानुखुट्नु छोडेर काम गथ्यौँ । राती १२ बजे, १ बजेसम्म काम गर्नुपथ्र्यो । कारखानामै सुत्थ्यौँ । तर पैसा कत्तिपनि आउँदैनथ्यो’, आफ्नो क्षेत्रको दुखद परिवेशको वर्णन सुनाउँदै उनले भने, ‘यस्तो अबस्था पनि भयो कि, गोजीमा पाँच रुपैयाँ पनि नभएर म द्रव्यशाह क्याम्पसबाट फर्कदा बसको भाडा तिर्न नसकेर धुरुधुरु रोएको छु । अतिसार भएपछि हामी पसल पनि आफै राख्ने बाध्यतामा पुग्यौँ । तर लगानी गर्न पैसा छैन । बुबासंग रोइकराइ गरेर दुई रुपैयाँ ब्याज तिर्नेगरी डेढलाख रुपैयाँ रिन मैले लिएँ । डेढलाख राजेन्द्र सरले जुटाउनु भयो । तीनलाख रुपैयाँ लिएर हामी काठमाडौं गएर नयाँ–नयाँ डिजाइनका कपडा ल्याएर पसल थाप्यौँ । अब भने राम्रो हुँदै गयो । तर फेरि दुर्भाग्यवश त्यहीबेला भूकम्प गयो । हाम्रो काम पनि ठप्पै भयो ।’
दुईतीन महिनापछि फेरि अलिअलि कामले गति लियो । ‘बिस्तारै हामी व्यस्त हुन थाल्यौँ । यति ब्यस्त भयौँ कि, राति दुई, तीनबजेसम्म काम गरेर कारखानामै खाने, कारखानामै सुत्ने गर्न थाल्यौँ’, उनले भने, ‘काम त पाइयो, कमाइ पनि हुन थाल्यो, तर शरीरमा रोग पसेछ । दुईपटकसम्म सिटिस्क्यान, एमआरआई गर्दा पनि रोग पत्ता लागेन । अन्तमा डाक्टर उपेन्द्र देवकोटाले खानाको, निद्राको, कामको र पढाइको तालमेल नमिलेर बिरामी भएको पत्ता लगाउनु भयो ।’
राजेन्द्र सिर्मल वैदेशिक रोजगारीमा गएपछि बालकृष्णले २०७६ सालको माघको १ गते जिविसचोकमा न्यू टेलर्स लोगो नामको फर्म दर्ता गरी आफ्नो अलग्गै पसल सञ्चालन गर्न थाले । त्यसपछि बल्ल उनको जीवनले नयाँ मोड, नयाँ गति लियो ।
चिनजान र सम्पर्क बढ्न थाल्यो । गुणस्तरीय काम, सभ्य व्यवहार, सहयोगी स्वभाव, सामाजिक व्यक्तित्व भएकै कारण उनको कामको सुगन्ध जिल्लाभरि फैलियो ।
यही सिलसिलामा उनले लियो क्लवको सदस्यता लिएका थिए । टेलरिङ व्यवसायी संघतिर पनि समय दिन सुरु गरे । सर्वसाधारणको दुख बुझेकाले कमाइको केही अंश आफूले जस्तै दुख पाइरहेका, संघर्ष गरिरहेकाहरुलाई दान गर्नुपर्छ भनेर मन खोलेर सहयोग गर्न हिँड्न थाले ।
अहिले उनले कारखनामा पाँच जना कालिगढ राखेका छन् । उनलाई जिल्लाभरिबाटै औपचारिक पोशाक तयार गरिदिन अर्डर आउँछ । विभिन्न गाउँपालिका, त्यहाँका विद्यालय, सरकारी, गैरसरकारी संघसंस्था, वैँकहरुबाट बोलावट आउँछ । उनी त्यहीँ पुगेर अर्डर लिन्छन्, कपडा नापजाँच गर्छन् । उनलाई अर्डर लिन भ्याइनभ्याइ, कालिगढहरुलाई सिलाइ कटाइ गर्न भ्याइनभ्याई छ ।
यसरी एउटा ६, ७ बर्षको उमेरदेखि हाते कल चलाएर व्यवसायतिर लागेको बालक अहिले गोरखा बजारको सबैभन्दा व्यस्त व्यवसायी बन्न सफल भएका छन् । सामाजिक क्षेत्रमा पनि जिल्ला, प्रदेश स्तरकै नेतृत्व गर्न सफल भएका छन् ।




