| बुधबार, असार ९, २०८३

तीन जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम र द्वितीय गोरखाकै

गोरखा, दोलखा र ओखलढुंगाका विभिन्न विद्यालयका ८९ वटा चित्रकला बीच भएको प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार जित्न गोरखाली प्रतिभा सफल भएका छन् । तीन जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स ओवर रिजेज नेपाल संस्थाले आयोजना गरेको चित्रकला प्रतियोगितामा नवज्योति मावि डण्डीडाँडा र तारा मावि छेपेटारका विद्यार्थी प्रथम र सरस्वती मावि आहाले द्वितीय भएका हुन् ।

‘शिक्षा किन महत्वपूर्ण छ ?’ अथवा ‘जब म शिक्षा भन्ने शब्द सुन्छु, मेरो दिमागमा के चित्रण हुन्छ ?’ भन्ने शीर्षकमा कक्ष ६ र ७ का विद्यार्थीहरु बीच भएको प्रतियोगितामा तारा माविकी कक्षा ७ की मन्दिरा नेपाली प्रथम भएकी हुन् । सोही शीर्षकमा कक्षा ८ र ९ का विद्यार्थी बीच भएको चित्रकला प्रतियोगितामा नवज्योति माविकी कक्षा ९ की एञ्जेलिका श्रेष्ठले प्रथम पुरस्कार जितेकी छिन् ।

त्यस्तै सरस्वती मावि आहालेका कक्षा ९ का सिमोन थापा मगरले दोस्रो स्थान हाँसिल गरेका छन् । पुरस्कृत प्रतिभाहरुलाई कल्स ओवररिजेजले मंगलबार सम्बन्धि विद्यालयमा गएर पुरस्कार प्रदान गरेको छ । प्रथम हुनेलाई रु पाँच हजार र द्वितीय हुनेलाई दुईहजार पाँचसय रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको संस्थाका राजेश श्रेष्ठले जानकारी दिए ।

सो संस्थाले गोरखा जिल्लाको गोरखा नगरपालिका, दोलखा जिल्लाको जिरी नगरपालिका र ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाका विद्यालयहरू बीच चित्रकला प्रतियोगिता आयोजना गरेका थियो ।
उक्त प्रतियोगितामा ८९ वटा कलाकृतिहरू सामेल थिए ।

प्रतिक्रिया दिनुहोस्