| बुधबार, माघ १, २०८२

गोरखामा कुपोषित बालबालिकाको संख्या बर्सेनि घट्दै

गोरखामा कुपोषित बालबालिकाको संख्या बर्सेनि घट्दै गएको छ । विगत तीनबर्षको कुपोषित बालबालिकाको तथ्यांक विस्लेषण गर्दा प्रत्येक बर्ष घट्दो क्रममा देखिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले संकलन गरेको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०८२/०८३ को प्रथम चौमासिकमा गोरखामा कुपोषित बालबालिकाको संख्या २८ छ । ६ जना अति कुपोषित र २२ जना मध्यम खालको कुपोषित बालबालिका रहेको जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिए ।

‘आर्थिक बर्ष २०८०/०८१ मा ७३ जना कुपोषित बालबालिका थिए । जसमध्य २६ जना कडाखालको र ४७ जना मध्यम खालका कुपोषित थिए’, पोषण शाखाका फोकल पर्सनसमेत रहेका खड्काले भने, ‘आर्थिक बर्ष २०८१/०८२ मा यो संख्या घटेर ४१ जना भए । उनीहरुमध्य पनि कडा खालको कुपोषितको संख्या घटेर जम्मा ३ जना र मध्यम खालको कुपोषितको संख्या ३८ भयो । अहिले चार महिनामा २८ जना पुगेका छन् ।’ शिक्षा र जनचेतनाका कारण कुपोषणको संख्या न्यूनिकरण हुदै गएको उनले बताए ।

‘पोषणको लागि सरकारको लगानी, गर्भवती, सुत्केरी र उनीहरुको स्याहार सुसार गर्नेहरुमा चेतना वृद्धि भएका कारण पनि कुपोषणको दर घट्दै गएको हुनसक्छ’, खड्काले भने, ‘गाउँबस्तीमा स्वास्थ्य संस्था बढिरहेका छन् । कुपोषित बालबच्चाको तत्काल उपचार प्रक्रिया सुरु हुने गरेको छ । त्यसैले कुपोषणको अवस्था सुधारोन्मुख भए पनि सन्तोषजनक मान्नचाहिँ सकिदैन ।’ जंकफुडको उपभोग बढिरहेको भन्दै उनले यसबर्ष चार महिनामै २८ जना पुगेकाले अघिल्लो बर्षभन्दा बढ्छ कि भन्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्