
युवा जनशक्ति विदेशिएपछि गाउँ–गाउँमा ‘थे्रसरदाइँ’
शिव उप्रेती ।
अहिले गोरखाका गाउँ–गाउँमा थ्रेसर प्रयोग गरेर दाइँ गर्ने प्रचलन बढेको छ । बिगत पाँच बर्षयता प्रवेश गरेको थ्रेसरको प्रयोग गाउँहरुमा बर्सेनि बढ्दै गइरहेको छ । दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयबासी स्वीकार्छन् ।
युवा(पुरुष) जनशक्ति विदेश पलायन भएपछि मेसिनले दाइँ गर्ने प्रचलन बढेको हो । मेसिनले गर्ने दाइँमा दयँरे पनि महिलाहरु हुने गरेका पालुङ्टार नगरपालिका ९ का महेन्द्र श्रेष्ठको भनाइ छ । ‘पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा त प्राय महिलै हुन्छन्’, उनले भने ।
अहिले गोरखामा ६० प्रतिशत दाइँ सकिएको छ । जसमध्य प्रायः तल्लो भेगको समथर फाँटहरुमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । ‘अहिले तल्लो भेगको ठूला फाँटहरुमा जहाँतहीँ थ्रेसरको प्रयोग गरेर दाइँ भइरहेको छ । माथिल्लो भेगको साना गरा भएका टारीखेतहरुमा भने दयँरे र हल गोरु प्रयोग गरेरै दाइँ हुने गरेको छ’, केन्द्रका सूचना अधिकारी सुमन भट्टराई भन्छन्, ‘गोरखा नगरपालिका, पालुङ्टार नगरपालिकाका, सिरानचोक गाउँपालिकाका फाँटहरुमा थेसर प्रयोग हुन्छन् भने बारपाक सुलिकोट, भीमसेनथापा र गण्डकी गाउँपालिकाका टारी फाँटहरुमा अहिले पनि मान्छेले नै दाइँ गर्ने गरेका छन् ।’
ठूला फाँटहरुमा दयँरे र हलगोरुको प्रयोग गरेर दाइँ गरेको दृश्य दुर्लभ भइसकेको स्थानीय किसानहरुको भनाइ छ । पालुङ्टार नगरपालिका ९ को फाँटमा मात्र सातवटा थ्रेसर मेसिन चल्ने मेसिनधनी महेन्द्र श्रेष्ठ बताउँछन् । ‘एक महिनायता सात वटा मेसिनलाई भ्याइनभ्याइ भएको छ’, उनले भने, ‘एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा पनि अझै माग धान्न गाह्रो छ ।’
कृषिमा यान्त्रिकरण हुनु सुखद पक्ष हो । यान्त्रिकरणबाट करिब १५ प्रतिशत लागत(खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उनका अनुसार खर्च घटाउनुमात्र प्रमुख कारण नभई युवा जनशक्ति पलायनका कारण पनि थ्रेसर दाइँको परम्परा बढेको हो । ‘ठूला फाँटहरु भएका र चक्लाबन्दी गरेका ठाउँमा जनशक्ति पलायनका बेला थ्रेसर बरदान सावितभएको छ’, उनी भन्छन् ।
दाइँमामात्र नभै गोरखाका फाँटहरुमा रोपाइँमा पनि ट्याक्टरको प्रयोग हुने गरेको छ । ठूला फाँटहरुमा र चक्लाबन्दी गरेका प्राय सबै खेतहरुमा रोपाइँमा ट्याक्टर र दाइँमा थ्रेसर मेसिनको प्रयोग हुने गरेको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । जनशक्ति कम भएका बेला कृषिमा यान्त्रिकरण बाध्यकारी जस्तै भइसकेको कार्यालयको भनाइ छ ।




