
बालमन्दिर अनाथ आश्रमका असहायको दशैं, टिका लगाईदिने कोहि छैन
अनुपमा खनाल : गोरखा सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालयको अनाथ आश्रमका बालबालिकालाई दशैं आएको थाहा छ । तर उनीहरुसँग नयाँ लुगा छैन, उडाउनका लागि चङगा छैन । न त उनीहरुले रोएर केही पाउँछन्, न त यस्तो चाहियो भनेर घुक्र्याउनलाई कोही छन् । स्कुल बिदा छ, घुम्न जाने ठाउँ छन् तर मन खुसी छैन । त्यसैले आश्रममा नै बसेर उनीहरु बिदा मनाउँदैछन् ।
१० कक्षामा पढदै गरेकी लाप्राककी आशकुमारी गुरुङ चारबर्षदेखि आश्रममा आश्रय लिदै आएकी छिन् । १६ बर्षिय उनको आमाको पाँचबर्षअघि मृत्यु भयो । अर्को बिहे गरेर बसेका बुवाले वास्ता गर्दैनन् । त्यसैले उनी यो दशैं आश्रममै मनाउँदैछिन् । ‘पिङ खेल्न जान्छौं, हेडसरले चारहजार रुपैया दिनुभएको छ । त्यसले मासु ल्याएर खाने हो’ उनले भनिन् ‘टिका, जमरा त कल्ले लाईदिने र ?’ अघिल्ला बर्षहरुमा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले उनीहरुलाई नयाँ लुगा दिएपनि यो साल नयाँ लुगा दिन कोही पुगेका छैनन् ।
आश्रममा रहेका मान्वुका कुमार गुरुङलाई गाउँको दशैं खुबै याद आउँछ । ‘गाउँमा फुटवल म्याचहरु हुन्थ्यो’ उनले भने ‘साथीहरु रमाईलो हुन्थ्यो तर घरमा कसैले बोलाउँदैनन् ।’ आमाको अनुहार समेत याद नगरेका उनलाई सौतने आमाले राम्रो ब्यबहार गर्दिनन् । दशैंलाई घरपरिवार र आफन्त जुट्ने चाड भनिएपनि कुमारलाई बाबुले वास्तै गर्दैनन् । त्यसैले बालमन्दिर माध्यामिक विद्यालयमा ८ कक्षामा अध्ययनरत १८ बर्षिय कुमारले खल्लो मनले अनाथआश्रममा नै दशैं मनाएको ४ बर्ष भइसक्यो । गुम्दा लप्सीबोटकी पुर्णिमा आफ्नो भाई र बहिनीका साथ आश्रममा छिन् । दुई बर्षअघि यहाँ आईपुगेकी उनी ८ कक्षामा पढ्छिन । ४ बर्षअघि नै आश्रममा आईपुगेका बहिनी ७ कक्षामा र भाई ४ कक्षामा पढ्छन् । २०७२ सालको भुकम्पमा बुवाको मृत्यु भयो । आमाले लालनपालन र शिक्षादिक्षा दिन गाह्रो प¥यो । यसैले उनीहरु बालमन्दिरमा आश्रय लिईरहेका छन् । घरमा एक्लै रहेकी आमासँगै दशैं मनाउन जाने उनीहरुको योजना यो पटक पूरा भएन । मुटुको समस्या रहेकी साथी आशकुमारी गुरुङलाई आश्रममा एक्लै छाडेर गाउँ जान उनीहरुको मन मानेन् ।
आश्रमका पाँच जना बाहेक अरु दशैं मान्न आफन्तकहाँ पुगिसके । बाँकी रहेकाहरुले दशैं कसरी मान्ने पत्तो छैन । मान्यजनबाट टिका लगाएर आशिर्वाद लिने चाड भएपनि उनिहरुको निधार अघिल्ला बर्षहरुमा पनि खालि नै छ । उनिहरुलाई अभिभावकत्व प्रदान गरेका प्रधानाध्यापक लुमनाथ लामीछाने सहित शिक्षकहरु दशैं मनाउन घर गईसकेका छन् । आश्रमका बालबालीकाको स्याहार गर्ने सहयोगी पनि घर जाने
तयारीमा छन् । यसैले दशैंका मुखय दिनमा आश्रममा बालबालीका मात्रै रहन्छन् ।
बालमन्दिरको अनाथ आश्रममा २० भन्दा बढि अनाथ बालबालीकाले आश्रय लिएका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए । विभिन्न संघसंस्थाले गर्ने सहयोगबाट विद्यालयले उनीहरुको शिक्षादिक्षा र पालनपोषण गर्दै आएको छ ।
गोरखा नगरपालिकाले बाल दिवसको अबसरमा सो आश्रमका अनाथ बालबालीकालाई दशंै कपडा खर्च उपलब्ध गराउने भनेपनि अहिलेसम्म दिएको छैन । चेक काट्ने तयारी भैरहेको नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले बताईन् । ‘ कागजी प्रक्रिया पुरा गर्नुपर्नेछ ’ उनले भनिन् ‘ हामीले बालमन्दिरका अनाथ बालबालीकालाई दशैंमा कपडा किन्न रकम छुट्टाएका छौ । विद्या लयसँग सल्लाह गरेर प्रक्रिया पुरा गरेर आईतबार चेक काट्छौ ।’




