
ज्येष्ठ नागरिकलाई गाडीभाडा ५० प्रतिशत छुट दिन निर्देशन

अनुपमा खनाल :
जिल्ला प्रशासन कार्यालय गोरखाले ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिन जिल्लाका यातायात ब्यबसायी सस्थांलाई निर्देशन दिएको छ । यातायात ब्यबस्था विभागको परिपत्र अनुसार जिल्लाको पृथ्वी राजमार्ग बस ब्यबसायी समिति र गोरखा यातायात ब्यबसायी समितिलाई पत्राचार गरि प्रशासनले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कानुन अनुसार सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा सवारी धनी वा सञ्चालकले ज्ेयष्ठ नागरिकका लागी कम्तीमा दुई सिट सुरक्षित राख्नुपर्ने उल्लेख छ । साथै ऐनले ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने ब्यबस्था छ । तर सबै ज्येष्ठ नागरिकले यो सेवा पाएका छैनन् । देशैभर सेवा नपाएको गुनासाको आधारमा यातायात ब्यबस्था विभागले कानुनले गरेको ब्यबस्था पालना गराउन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो । सोही पत्रका आधारमा जिल्ला भित्र तथा जिल्ला हुँदै अन्यत्र जाने यात्रुवाहक सवारी साधनलाई ऐन अनुसार सेवा दिन जिल्लाका यातायात ब्यबसायी समितिलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । सेवा सुविधा उपलब्ध गराए नगराएको अनुगमन गर्ने र नगरेको पाएमा कारबाही गर्ने उनको भनाई छ । जिल्लामा करीब २५ हजार ज्येष्ठ नागरिकको बसोबास रहेको ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले बताए ।
संघ मार्फत नै ६ सय ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण भैसकेको उनले बताए । सोही परिचय पत्रका आधारमा छुट सुविधा पाउन समस्या रहेको उनले गुनासो गरे ।
‘पृथ्वीको काउण्टरमै टिकट काट्दा दिन्छ’ उनले भने‘ कार्ड हुनेलाई मात्रै हो त्यो पनि , कार्ड नभएकालाई छुट दिदैंन ।
बिचबाट चढ्ने ज्येष्ठ नागरिकले पनि छुट पाउदैनन् । शाखा सडकहरुमा पनि दिदैनन् ।’




