
गोरखा दरबारको दान पेटिकाबाट पाँच महिनामा २ लाख आठ हजार रुपैँया भेटी संकलन
पाँच महिनाको अवधिमा गोरखा दरबारको दान पेटिकामा दुई लाख आठ हजार रुपैँया रकम संकलन भएको छ । गोरखकाली मन्दिर परिसरमा रहेका दुई वटा दान पेटिकामा उक्त परिमाणको रकम संकलन भएको गोरखा दरवारका मुल पूजारी शारदाप्रसाद भट्टराईले बताए । बिहिवार जिल्लाका सरोकारवाला निकायको रोहवरमा दान पेटिका खोलिएको उनले जानकारी दिए ।
‘जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, गोरखा दरवार हेरचाह अड्डाका कर्मचारी लगायतको रोहवरमा दान पेटिका खोलेका हौँ,’ उनले भने, ‘दुवै पेटिकामा गरेर कुल दुई लाख ८ हजार १४० रुपैँया रकम संकलन भएको रहेछ ।’ उनका अनुसार हरेक ६ वा ७ महिनामा दान पेटिका भरिन्छ र भरिएपछि खोल्ने गरिएको छ ।
यसअघि गत बैशाख १५ गते खोलिएको थियो ।
‘बैशाखमा १५ गते दान पेटिका खोलेर वैंक खातामा जम्मा गर्दा खातामा १५ लाख ४६ हजार ९२१ रुपैँया संकलन भएको थियो’, उनले भने, ‘अब यो समेत जम्मा गर्दा वैंकमा १७ लाख ५५ हजार ६१ रुपैयाँ रहनेछ ।’ दान पेटिकामा संकलित रकम गोरखा दरवार हेरचाह अड्डाको नाममा रहेको बैक खातामा जम्मा गर्ने गरिएको छ । उक्त रकम दरबारको खानेपानी व्यवस्थापन, वातावरण सरसफाई, तत्कालका लागि गर्नुपर्ने मन्दिरका नियमित पुजाआजा लगायतका कार्यमा खर्च गर्ने गरिएको गोरखा दरबार हेरचाह अड्डाले जानएको छ ।
आर्थिक कार्यविधि बनाएर उक्त रकम खर्च गर्नुपर्ने भएपनि कार्यविधि नभएका कारण हालसम्म हेरचाह अड्डाको निर्णय अनुसार खर्च हुदैँ आएको पूजारी शारदाप्रसाद भट्टराई बताउछन् ।