| आइतवार, अशोज १०, २०८३

गोरखाका ३० सहित १७७ तमु विद्यार्थीलाई छात्रवृत्ति

तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८२ का लागि तेस्रो चरणमा गोरखाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । १७७ जना गुरुङ (तमु) विद्यार्थी छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अन्तर्गत गोरखाका ग्रामीण भेगका सामुदायिक विद्यालयका कक्षा ९, १०, ११, १२ का ती विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

दोस्रो चरणमा प्रतिष्ठानले १३ जना विद्यार्थीलाई लमजुङको बेसीसहरमा छात्रवृत्ति प्रदान गरेको थियो । प्रतिष्ठानले पहिलो चरणमा कास्की, तनहँ, स्याङजा, पर्वत र लमजुङका पश्चिमी क्षेत्रका ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा गोरखाका ३० जना विद्यार्थीलाई जनही वार्षिक ८ हजारका दरले छात्रवृत्ति रकम वितरण गरेको हो । यो रकम विद्यार्थीले कक्षा नौदेखि १२ कक्षासम्म ४ वर्षसम्म पाउने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव कञ्चन गुरुङ, सदस्य लोकबहादुर गुरुङ, विद्यार्थी एलिना गुरुङ लगायतले छात्रवृत्तिका बारेमा बोलेका थिए ।
यो वर्ष प्रतिष्ठानले नयाँ ८० सहित १ सय ७७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ । प्रतिष्ठानले ग्रामीण तथा विपन्न वर्गका गुरुङ विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पु¥याउने उद्देश्यका साथ २०६६ देखि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विगतमा जापानमा बस्दै आएको गुरुङ समुदायका व्यक्तित्वहरुले शैक्षिक तथा सामाजिक सेवामा काम गर्नको लागि २०५८ सालमा प्रतिष्ठान खोलेका हुन् । ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नारासहित काम गर्दै आएको प्रतिष्ठानले १३ संस्थागत र १ सय ७ व्यक्तिगत गरी १ सय १० शीर्षकमा स्थापना गरेको अक्षयकोषबाट आउने ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष गुरुङले जनाए ।

कक्षा ९ देखिको छात्रवृत्तिको लागि नयाँ विद्यार्थीहरु लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरी छनौट हुनु पर्छ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कोषाध्यक्ष श्यामबहादुर गुरुङले ३ करोड १६ लाख ८८ हजार बराबरको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्