
विद्यालय नै नभएको वडा
गोरखा नगरपालिकामा विभिन्न तहका ४७ मध्य हाल ४१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका प्रमुख चन्द्र खड्काका अनुसार नगरपालिकामा मावि तहका १७ र बाँकी आधारभूत तहका हुन् ।
वडा नं. ३ मा सबैभन्दा धेरै ६ वटा विद्यालयहरु छन् । वडा नं. ६ मा ५ वटा, वडा नं. ४, १३ र १४ मा चार–चार वटा विद्यालयहरु सञ्चालित छन् । अरु सबै वडाहरुमा कुनैमा एक, कुनैमा दुई, कुनैमा तीनवटासम्म पनि विद्यालयहरु छन् । तर यहाँ एउटा यस्तो वडा छ जहाँ, विद्यालय नै छैन ।
विद्यालय नै नभएको त्यो वडा हो, गोरखा नगरपालिकाको वडा नं. ५ । हुँदै नभएको भने होइन, दुईवटा थिए तर, दुवैमा बालबालिका शून्य भएपछि लामो समयदेखि तिनीहरु हाल बन्द छन् । र यहाँको शिवशक्ति आधारभूत विद्यालय अमराई बिगत चार बर्षदेखि बन्द अबस्थामा रहेको वडाअध्यक्ष विष्णु राना मगर बताउँछन् । स्वाँरास्थित गोरखकाली आधारभूत विद्यालय पनि गतबर्षदेखि बन्द भएको उनको भनाइ छ ।
यी विद्यालयहरुलाई कागजी अर्थात कानूनी रुपमा बन्द भएको भन्न भने नमिल्ने शिक्षा शाखा प्रमुख खड्का बताउँछन् । ‘हाल विद्यार्थी शून्य भएकाले शिक्षकहरु अन्यत्र व्यवस्थापन गरेका हौँ’, उनले भने, ‘त्यसैले खारेज भन्न मिल्दैन । मर्ज पनि होइन ।’
सबैको घरदैलोमा बोर्डिङस्कूल र ठूला सामुदायिक विद्यालयका मोटर पुग्न थालेपछि स्थानीय आधारभूत तहका विद्यालयहरु बन्द भएका वडाअध्यक्ष विष्णु राना मगरको भनाइ छ ।
‘सबैको घरघरमा ठूला स्कूलका गाडी पुगे । आफ्ना छोराछोरी टाढाको विद्यालय पढाइयो भने राम्रो हुन्छ भन्ने अभिभावकलाई लाग्दो रहेछ । गाउँको स्कूल जोगाउनु पर्छ भनेर कसैले सोचेनन्’, उनले भने, ‘बरु हामीले अमलापानी, बोहोरोबेशीमा बाल विकास सुरु गरेका छौँ । पोहोर नर्सरी थियो । अहिले एक सुरु गरेका छौँ ।’ त्यहाँ २०, २२ जना बालबालिका पढ्न आउने गरेको उनको भनाइ छ ।




