
मुस्कानसहितको स्वागतले विद्यार्थी, अभिभावकमा उमंग
हिमालय मावि बारपाकको प्रवेशद्वारमा मंगलबार बिहान साँडे नौबजे सन्तकुमारी घले मिस, मीनाकुमारी घले मिस र दीपेन्द्र बानियाँ सर दुवै हात जोडेर नमस्कार गर्दै उभिरहेका थिए । साना साना बालबालिकाहरु किताब, कापीले भरिएको झोला बोकेर धमाधम आउँदै थिए । सर, मिसहरुले हँसिलो मुहारमा गुडमर्निङ, नमस्कार, अनि स्थानीय भाषामा स्योपो ख्याङ भनिरहेका थिए ।
विद्यार्थीहरु हाँस्दै ‘गुडमर्निङ, स्योपो ख्याङ, नमस्कार, ढोगदिया’ भन्दै विद्यालय प्रवेश गर्दै थिए । शिक्षक, विद्यार्थीको यो सुन्दर दृश्य छोराछोरी पु¥याउन स्कूल गेटसम्म आएका अभिभावकहरु दंग पर्दै हेरिरहेका थिए । यसबर्षदेखि विद्यालयले सुरु गरेको यो सुन्दर परम्परासंग उनीहरु पुलकित थिए ।
भूकम्पको केन्द्रविन्दू भनेर नाम चलेको बारपाकको हिमालय माविले गत वैशाखको २० गतेदेखि विद्यार्थीलाई न्यानो स्वागत गर्ने परम्परा सुरु गरेको हो । ‘१९ गतेको स्टाफ बैठकले निर्णय गरेर २० गतेबाट हामीले विद्यार्थीलाई स्वागत गर्न सुरु गरेका हौं’, प्रधानाध्यापक राम उद्गार महतोले भने, ‘हामी २४ जना शिक्षक स्टाफ छौं । प्रत्येक दिन दुई–दुई जना सर, मिसहरु मुलगेटको दायाँ–वायाँ उभिनुहुन्छ अनि, गुडमर्निङ, नमस्कार अनि स्थानीय भाषाबाट स्योपो ख्याङ भन्नुहुन्छ, ‘यसरी मुस्कानसहित स्वागत गरेपछि विद्यार्थीहरु पनि अति नै खुशी भएको देखियो ।
अभिभावक पनि खुशी हुनुहुन्छ । बारपाक भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि मुस्कानसहितको स्वागत देखेर रोमाञ्चित हुने गरेका छन् । केहीदिनअघि शिक्षा मन्त्रालयबाट सरहरु विद्यालयको अनुगमनमा आउनु भएको थियो । उहाँहरु पनि नौलो परम्परा देखेर धेरै खुशी हुनुभयो । हामीलाई धन्यवाद दिनुभयो ।’ मुस्कानसहितको स्वागत धेरै प्रभावकारी भएको उनको भनाइ छ ।
यही परम्परा केहीबर्षअघि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीमार्फत सुरु गरेको थियो । तर त्यतिबेला विद्यार्थीहरुले निरन्तरता नदिएका कारण एक महिनापछि बन्द भएको एक शिक्षक सलिना गुरुङले बताइन् । यसपटक भने सबै शिक्षकले अपनत्व लिएकाले निरन्तरता पाउने विश्वास लिइएको उनले बताइन् ।
विद्यार्थी मैत्री वातावरण देखेपछि यसपटक ५१ जना नयाँ विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ । गतबर्ष जम्मा सात जना नयाँ भर्ना भएको यहाँ यसबर्ष बोर्डिङस्कूलबाट पनि सामुदायिक विद्यालयमा भर्ना हुन आएको उनले बताए ।




