| आइतवार, कार्तिक २९, २०८३

मनास्लुका बासिन्दा हेलिकोप्टर पर्खेरै मर्नुपर्ने कहिलेसम्म ?

चुमनुब्री ३ सल्लेरीकी १७ बर्षीया कान्छी गुरुङ(सलिना), चुमनुब्री ४ को नुब्री प्रावि गप छात्रवासकी सहयोगी कार्यकर्ता(आया) हुन् । दशै विदामा घर फर्कदा घरमा कोशेली लैजान उनी आइतबार छाकको स्याउबारीमा गइन् । स्याउ टिपेर फर्किदै गर्दा पौने १२ बजेतिर अचानक भीरबाट ढुङ्गा पल्टदै आयो र उनलाई लाग्यो । उनीसंगै रहेकी साथीले चिच्याएर गाउँले बोलाइन् ।
स्वास्थ्य कार्यकर्ता र गाउँलेले उद्धार गरे । स्वास्थ्य कार्यकर्ताले प्राथमिक उपचार गरे । नुब्री क्षेत्रमा घाइते तथा बिरामीलाई हेलिकोप्टरबाट उद्धार सेवा दिदै आएको गप जागरण समाजका निमा लामाले सहयोगी संस्था माउण्टेन चाइल्ड को हेलो कार्यक्रमका सुशील श्रेष्ठसंग हेलिकोप्टर माग गर्न सम्पर्क गर्दा पौने एक बजेको थियो । श्रेष्ठले घाइते संस्थाको उद्धार माप दण्डभित्र पर्ने नपर्ने रुजु गरे र हेलिकोप्टर कम्पनीमा सम्पर्क गरे । हेलिकोप्टर तयार भयो । उँडानका लागि जिल्ला प्रशासन कार्यालय गोरखासंग अनुमति माग्नु पर्ने थियो । अनुमतिका लागि सम्पर्क गर्दा पौने दुई बजेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण भ्टराईका अनुसार उनले अनुमति दिँदा दुई बजेको थियो ।
सिम्रिक एयरको हेलिकोप्टर कम्पनीले पहिले नागरिक उड्डयन प्राधिकरण र त्यसपछि गृह मन्त्रालयको अनुमति पाउँदा पौने चार बजिसकेको थियो । ‘यहाँ हेलिकोप्टर आइपुग्दा पाँच बजेको थियो’ गप जागरण समाजका निमा लामाले भने, ‘हामीले हेलिकोप्टरमा राखेर मेडिसिटी अस्पताल पु¥याउँदा घाइतेको मृत्यू भइसकेछ । डाक्टरले दुईघण्टा अघि ल्याइपु¥याएको भए बचाउन सकिन्थ्यो भन्नुभयो ।’
हेलिकोप्टर उडानको लामो प्रक्रियाका कारण १७ बर्षे सलिनाको अकालमा ज्यान गएको भन्दै उनले चिन्ता दुख गरे । हेलि कोप्टर उँडान अनुमतिको प्रक्रिया पूरा गर्दैमा गम्भीर बिरामीको मृत्यू भइसक्ने घटना गोरखाको मनास्लु क्षेत्रकोलागि यो नै पहिलो होइन । प्रक्रियागत ढिलाइका कारण एक महिनाअघि एकै दिनमा चुमनुब्री १ सामागाउँकी छिरीङ लामाको नवजात शिशु र वडा नं ५ चुम्चेतकी ५५ बर्षीया प्रेमभुटी लामाको हेलिकोप्टर पर्खदा पर्खदै मृत्यु भएको थियो ।
सदरमुकामदेखि ५२ कोशसम्म टाढा रहेको गोरखाको छेकम्पार, ल्हो, बिही, प्रोक र छेकम्पारमा हेलिकोप्टर चार्टर गर्न सरकारले झण्झटिलो ब्यबस्था गरेको छ । सडक सञ्जालले पनि नछोएको र हेलिकोप्टार चार्टर गर्न पनि झण्झटिलो नियम बनाइदिएको सो क्षेत्रका बासिन्दाको गुनासो छ । ‘घाइते भएर मान्छे मर्न लागिसकेको हुन्छ, तर हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डयन प्राधिकरण र गृहमन्त्रालयको अनुमति लिन दौडदा दौडदै मान्छे मरिसक्छ’, चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘यसरी हाम्रो दुर्गम गाउँको मान्छे मरेको सरकारले कहिलेसम्म हेरिरहन्छ ? अब त अति भइसक्यो ।’
रिनधन गरेर हेलिकोप्टर चार्टर गरेर बिरामीलाई अस्पताल पु¥याउन खोज्दा पनि नदिएर सरकारले अन्याय गरेको उनको गुनासो छ ।
‘पैसा तिरेपछि हेलिकोप्टर उँड्न तयार भैसकेको हुन्छ, उता बिरामी सिकिस्त हुन्छ तर प्रक्रिया पूरा गर्दागर्दै दिन बित्छ’, उनले भने । चुमनुब्री गाउँपालिका नै सडक सञ्जालले जोडिएको छैन । त्यहाँका लागि हेलिकोप्टर बाध्यात्मक सवारी साधन अन्तर्गत पर्छ ।
तिब्बतसंगको सीमा क्षेत्र भएकाले सरकारले हेलिकोप्टर उँडानमा कडाइ गरेको हो । ‘मनास्लु क्षेत्रलाई सरकारले प्रतिवन्धित क्षेत्र मानेको छ’, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई भन्छन्, ‘त्यसैले मनास्लु क्षेत्रमा हेलिकोप्टर चार्टर गर्न निश्चित नियमहरु पूरा गर्नुपर्छ तर बिरामी र घाइते उद्धार गर्न हामीले रोकेका पनि छैनौं, अल्मल्याएका पनि छैनौं । आइतबारको घटनामा पनि अनुमति माग गरिएको १५ मिनेटभित्र हामीले दिएका थियौं ।’
स्थानीयबासीले भने कि सडक बिस्तार गर्न कि हेलिकोप्टरमा कडाइ नगर्न माग गर्दै आएका छन् । ‘दुई चार जना अपराधीले अपराधी काम ग¥यो भनेर सरकारले हजारौं चुमनुब्रीका बासिन्दालाई हेलिकोप्टर चार्टर गर्न पनि साह्रै समस्या पार्ने काम गरेको छन्’, सामागाउँका कर्मा लामा भन्छन्, ‘अब नारा जुलुस गर्न जाने तयारी गरेका छौं ।’ चाहेको बेला हेलिकोप्टर उँडाउन नपाउँदा सामागाउँ, ल्हो, प्रोक, बिही र छेकम्पारका बासिन्दाले सरकारसंग आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्