
धार्चे र बारपाक सुलिकोटका विद्यार्थीको सदरमुकाममा ओइरो
दुर्गम गाउँपालिका धार्चे र बारपाक सुलिकोटका विद्यार्थी बर्सेनी सदरमुकामका विद्यालयमा पढ्न झर्ने क्रम बढिरहेको छ । ‘लेकतिरका’ विद्यार्थी पहिला भन्दा धेरै आएका’ सदरमुकामका सामुदायिक र संस्थागत विद्यालयले जनाएका छन् ।
बिगतमा भन्दा यसबर्ष उल्लेख्य संख्यामा विद्यार्थी भर्ना हुन आएको सदरमुकामका निजी तथा सामुदायिक विद्यालयहरुले जनाएका छन् । ‘आउन त त्यताबाट पोहोर(परार पनि आउँथे । तर यसबर्ष अल्लि धेरै नै आए’, मोर्डन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल सिताराम तिवारीले भने, ‘किन छोराछोरीलाई बजारमा पढाउन ल्याउनु भा’ भनेर सोध्दा गाउँको स्कूलमा दुई, चार जना मात्र विद्यार्थी छन् । पढाइ पनि राम्रो हुन्न भन्ने गर्नुहुन्छ ।’
विद्यालयहरुबाट प्राप्त तथ्याङ्क अनुसार यसबर्ष शक्ति माविमा नयाँ भर्ना भएका ७४ जना विद्यार्थीमध्य १४ जना धार्चेका छन् भने १२ जना बारपाक सुलिकोटका छन् । त्यस्तै बालमन्दिर माविमा नयाँ भर्ना भएका ५६ जनामध्य २४ जना धार्चेका छन्, १० जना बारपाक सुलिकोटका छन् ।
नवज्योति माविमा यसबर्ष नयाँ भर्ना भएका ८७ जनामध्य १९ जना धार्चे र १४ जना बारपाक सुलिकोटका छन् । सरस्वती माविमा कूल ७० जना नयाँ भर्ना भएकामध्य १४ जना धार्चेका र ११ जना बारपाक सुलिकोटकै छन् ।
निजी तथा संस्थागत विद्यालयमा पनि ती दुई गाउँपालिकाबाट भर्ना हुन आउनेको संख्या उल्लेख्य छ । मोर्डन बोर्डिङ स्कूलमा ४० जना धार्चे र ४० जना बारपाक सुलिकोटका छन् । द वल्ड क्यापिटल बोर्डिङ स्कूलमा पनि कम्तिमा २० देखि ३० जना धार्चे र सोही संख्यामा बारपाक सुलिकोटका विद्यार्थी भर्ना हुन आएका छन् । ‘यी सबै बारपाक सुलिकोट र धार्चेबाट यसै बर्ष नआएका पनि हुनसक्छन्’, मोर्डन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल तिवारी भन्छन्, ‘पहिल्यै कुनै सामुदायिक विद्यालयमा पढेर यसबर्ष बोर्डिङ भर्ना भएका पनि हुनसक्छन् ।’ तर वल्ड क्यापिटलले भने यो संख्या अझै बढि हुन सक्ने जनाएको छ । ‘हामीले स्थायी ठेगाना ठेगाना अनिबार्य गरेका छैनौँ । उहाँहरुले बजारमा बसोबास गरेको ठाउँको ठेगाना मात्र लेखाएको पनि हुनसक्छ । त्यसो हुँदा धार्चे र बारपाक सुलिकोट भनेर नचिनिएको हुनसक्छ ।’ दुवै गाउँपालिकाले बर्सेनी शिक्षा क्षेत्रमा करोडौ लगानी गर्ने गरेका छन् । गाउँकै सामुदायिक विद्यालयमा भर्ना भएर पढ्न प्रेरित गर्न विभिन्न खालका आकर्षक कार्यक्रम बनाइरहेका छन् । चालु आर्थिक बर्ष पनि बारपाक सुलिकोट गाउँपालिकाले गाउँका विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई एकलाख पुरस्कार घोषणा गरेको थियो । गाउँकै पोलिटेक्निक कलेजमा पढ्नेलाई छात्रवृत्ति कार्यक्रम घोषणा गरेको थियो । तर गाउँपालिकाको आकर्षक कार्यक्रमले विद्यार्थी र अभिभावक लाई आकर्षण गर्न सकेको देखिएको छैन । बरु विद्यालयहरु धमाधम बन्द भइरहेका छन् । विद्यार्थी संख्या शून्य भएपछि गतबर्ष बारपाक सुलिकोटका पाँच विद्यालय एकसाथ बन्द भए । एक विद्यालयको तह घटुवा भयो । धार्चे गाउँपालिकाका तीन विद्यालय पनि एकसाथ बन्द भए । वैदेशिक रोजगारीका कारण अभिभावकहरु सहरमुखी भएका यी दुवै गाउँपालिकाको तर्क छ । ‘मुख्य कारण त वैदेशिक रोजगार हो’, धार्चे गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज जोशी भन्छन् ‘वैदेशिक रोजगारीले घरको आर्थिकस्तर बढ्यो । अनि अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई सहरको बोर्डिङ स्कूल पढाउन मन लाग्यो । त्यसैले सहरमुखी भए ।’ कोही बच्चा पढाउनका लागि मात्र सहर झरेका र कोही भने बसाइँसराइ गरेर सहर झरेको उनले बताए । ‘महिनादिन लामो शैक्षिक आन्दोलनका कारण पनि बालबालिका सहर झरेका हुनसक्छन्’, उनले अनुमान गरे ।
सहर झरेर पनि बोर्डिङभन्दा सामुदायिक विद्यालयमा भर्ना हुनेको संख्या धेरै छ । यसले गर्दा आयस्तर बढेर वा शैक्षिक हड्तालका कारण मात्र सदरमुकाम झरेको भन्न नमिल्ने अबस्था छ । ‘गाउँमा बेरोजगारीले दपेटेर रोजगारीको खोजीमा छोराछोरी लिएर सहर पसेका हुनसक्छन्’, फरक तर्क गर्दै बारपाक सुलिकोट गाउँपालिकाको शिक्षा शाखाका भीमकुमार श्रेष्ठ भन्छन्, ‘सदरमुकाममा सानोतिनो भने पनि काम पाइन्छ । पेट पनि पालिन्छ, छोराछोरी पनि पढाइन्छ भनेर झरेका हुन् ।’ गाउँमै स्वरोजगार तथा रोजगारीको सिर्जना गर्न सकेमा वैदेशिक रोजगारी तथा सहरी रोजगारीका नाउँमा बसाइँ सर्ने क्रम रोकिन सक्छ । शिक्षा क्षेत्रमा बर्सेनी पालिकाहरुले गर्ने करोडौंको पनि काँट लाग्न सक्छ ।




