| आइतवार, कार्तिक २९, २०८३

काशीगाउ पुनर्निर्माण सम्पन्न जिल्लाको पहिलो वडा

अनुपमा खनाल :
स्थानीय तहको चुनाव अघिसम्म धार्चे गाउँपालिका ६ काशीगाउँमा गोरखा भुकम्पले भत्किएका घर खासै बनेको थिएन । धेरेजसो बासिन्दा घर निर्माणबारे अलमलमा थिए । घर नबनाए अनुदान फिर्ता गर्नुपर्छ भनेर पहिलो किस्ताको ५० हजार रुपैया पनि धेरैले लिएका थिएनन् । फेज नेपालले घर बनाउन प्रतिपरिवार १६ पाता जस्ता र घर निर्माण गर्दा चाहिने औजार, किलाकाटी दिएको थियो, त्यो पनि त्यसै थन्किएका थिए । तर २०७४ जेठ पहिलो साता वडामा जनप्रतिनिधि निर्वाचित भएसँगै गाउँमा पुननिर्माणले गति लिन थाल्यो ।
स्थानीय जनप्रतिनिधि आएको करीब डेढ बर्षमै जिल्लामा नीजि आवास पुननिर्माण सम्पन्न गर्ने पहिलो वडा घोषणाको तयारीमा वडा कार्यालय जुटेको छ । भुकम्पले भत्किएका सबै घर बनेसँगै कात्तिक ११ गते औपचारिक कार्यक्रम गरी पुनर्निर्माण सम्पन्न वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए । ‘औपचारिक कार्यक्रम गरी नीजि आवास निर्माण सम्पन्न वडा घोषणा गर्ने भनेर हामीले निर्णय गरिसक्यौँ’, उनले भने, ‘जिल्ला र केन्द्रबाट अतिथिहरु लगेर कार्यक्रम गरेर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्ने तयारी छ ।’ काशीगाउँमा सुरुमा तीनसय ६८ भूकम्पपीडित लाभग्राही छनौट गरिए पनि गुनासोमार्फत ७९ जना थपिएका थिए । गुनासो ब्यवस्थापन सहित कुल लाभग्राहीको संख्या चारसय ६८ पुगेकोमा गाऊँ बाहिर बसोबास गरेका सात घरबाहेक सबै घरको पुनर्निर्माण सकिएको वडाअध्यक्ष घलेले बताए ।
‘यहाँ घर भएर जिल्लाबाहिर र विदेशमा रहेका ७ जना लाभग्राही छन्’, उनले भने, ‘उनीहरुले घर नबनाउने भएका छन् । त्यसैले वडालाई ब्यक्तिगत आवास पुननिर्माण सम्पन्न वडा घोषणा गर्न लागेका हांै ।’ काशिगाउँ गोरखा सदरमुकामबाट २० कोष टाढा रहेको गाउँ हो । हालसालै मान्बुबाट गाऊँसम्म मोटरबाटो पुगेपनि सहज रुपमा गाडी चल्ने अवस्था छैन । त्यसैले गाउँलेले स्थानीय स्तरमा पाईने ढुंगामाटो, काठको प्रयोग गरेर धेरैले घर बनाएका छन् । आबश्यक सिमेन्ट, रड भने आरुघाटबाट खच्चडलाई बोकाएर लगेको गाउँलेले बताएका छन् । निर्माण सामग्री जुटाउन र अन्य सहजिकरणमा वडाले सहयोग गरेकाले पुननिर्माणको काम छिट्टै सकिएको वडाध्यक्ष घलेले बताए । ‘यहाँ काठ र ढुंगााको समस्या थियो’ उनले भने ‘हामी निर्वाचित भएर आएपछि गाऊँ नजिकैको सामुदायिक वनबाट काठ ब्यवस्थापन ग¥यौ, गाउँमै रहेको ढुंगा उपयोगका लागि स्थानीयलाई अनुमति दियौँ । अनि सबैले घर बनाउन थालेका हुन् ।’ पुननिर्माण प्राधिकरणले खटाएका प्राविधिक, विभिन्न गैह्रसरकारी सँस्था लगायतको प्राविधिक सहयोगमा गाऊँमा बनेका सबै घर सरकारी मापदण्ड अनुसार भूकम्प प्रतिरोधी बनेको उनको दाबी छ । वडाअध्यक्ष घलेले भने ‘युएनडिपीको सहयोगमा सरकारी किस्ता पनि सजिलै पायौ, सँस्थाहरुले भुकम्प प्रतिरोधी घर बनाउन पनि सिकाए, डकर्मी पनि गाउँमै भए, निर्माण सामाग्री जुटाउन वडाले पहल ग¥यो, पुननिर्माण छिटो सकियो ।’

प्रतिक्रिया दिनुहोस्