
घडेरी नपाउदा केरौंजाबासी ४२ महिनादेखि टहरोमै
भूकम्प र पहिरोले पुनस्र्थापना गर्नुपर्ने ‘हिटलिस्ट’ मा परेका केरौंजाबासीले जग्गा नपाउँदा अझै घर बनाउन पाएका छैनन् । पुनस्र्थापना हुन नसक्दा त्यहाँका भूकम्प पीडितहरु ४० महिनादेखि अर्काको जग्गामा टहरो बनाएर बसिरहेका छन् ।
पुस महिनाभित्र पुनस्थापना सक्ने सरकारले घोषणा गरे पनि आठसय ८८ घरधुरीमध्य अहिलेसम्म जम्मा १३३ जनाले मात्र घर बनाएका पुनर्निर्माण प्राधिकरणको जिल्ला समन्वय इकाइले जानकारी दिएको छ । घरबारबिहिन १४ जनाको नाम अझै छुट भइरहेको वडाअध्यक्ष सुकबहादुर गुरुङले बताए ।
पुनस्थापना गर्नुपर्ने तीनसय ९७ घरधुरीको अबस्था अहिलेसम्म ज्यूँकात्यूँ रहेको अध्यक्ष गुरुङको भनाइ छ । ‘साबिक वडा नं. १ को ३२ घर, वडा नं. २ को १७५ घर, वडा नं. ३ का ५२ घर र वडा नं. ४ का १३८ घर पुन स्थापना गर्नुपर्ने भनेर भूगर्भविदले निश्कर्ष निकालेका थिए’, वडा अध्यक्ष गुरुङले भने, ‘तर अहिले सम्म भएको छैन । कोहीकोही चितवन, गोरखा, आरुघाट, आर्खेततिर बसाइँ सरेर गएका छन् ।’ २५ घर गोरखा बजार, पाँचघर चितवन, सात घर आरुघाट र पाँच घर आर्खेतमा बसाइँ सरेर गएका उनले बताए ।
‘गोरखा बजारभन्दा तल केरौंजा बस्ती बनाएर बसेका छन्’, गुरुङले भने, ‘आरुघाटमा चाहिँ डेरा गरेर बसेका छन् । आरुघाट र चितवनमा पनि घर बनाएर बसेका छन् ।’ पैसा नहुनेहरु कोही गाउँमै भत्किएको घर मर्मत गरेर र कोही अर्काको बारीमा टहरो बनाएर बसेको उनले बताए । केही महिनाअघि केरौंजाबासीलाई लामाबेशीमा पुनस्थापित गर्ने योजनाका साथ प्रमुख जिल्ला अधिकारी सहितको टोली गाउँमा पुगेर ४० जनालाई लालपूर्जा वितरण गरेर फर्केका थिए । तर त्यसपछि लालपूर्जा वितरण गर्ने काम पनि नभएको वडा अध्यक्ष गुरुङको भनाइ छ । ‘४० जनाले त लालपूर्जा पाए, अरुलाई के गर्ने ?’, उनले भने, ‘त्यसपछि जग्गा छुट्याउनका लागि नापी, मालपोतका कर्मचारी पनि गाउँ गएका छैनन् ।’
घर बनाएर बस्ने ठाउँ नपाउँदा केरौंजाका बासिन्दाले तीन हिउँदबर्षा टहरोमै बिताइसकेका छन् ।
‘पहिरोको डरैडरमा बर्खा बित्यो’, स्थानीय एलिजा गुरुङले भनिन्, ‘अब हिउँदको चिसो पनि टहरोमै बिताउनु पर्ने भयो । हामीलाई मात्र किन यसरी सरकाले ढिला गरेको होला ?’ बर्खा सकिएपछि मात्र सरकारी कर्म चारी आएर जग्गा छुट्याउने खबर आएको उनले बताइन् ।
एउटा घरलाई पुग्ने घडेरीमात्र लिएर अन्यत्र बसाइँ सर्नेहरु पनि सन्तुष्ट छैनन् । गरेर खान नपाइने भयो भन्दै उनीहरुले गुनासो गरेका हुन् । ‘बास मात्र भएर हुदैन, गाँस पनि चाहियो’, वडा अध्यक्ष गुरुङ भन्छन्, ‘गरिखाने खेतबारी सबै माथि नै छ । यहाँ के गरी खाने हो, थाहा छैन ।’ अहिले बर्षात कायमै रहेकाले जग्गा व्यबस्थाका लागि कर्मचारी खटाउन नसकिएको जिल्ला विपद व्यबस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ । बर्खा जसोतसो काटेपछि हिउँदको समयमा शिविर राखेर नै जग्गा कित्ताकाट गरी लालपूर्जा बाँडिने उनले बताए ।




