
शहिद लखनले शिक्षक आन्दोलनका कारण प्रभावित बनेको कक्षाहरु बर्खे बिदामा संचालन गर्ने
शहिद लखन गाउँपालिकाले शिक्षक आन्दोलनका कारण प्रभावित बनेको कक्षाहरु बर्खे बिदामा संचालन गर्ने भएको छ । बर्खे बिदा कटौती गरेर कक्षा संचालन गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । ‘यो बर्ष बैशाख २ गतेबाट कक्षा संचालन गर्ने भनेका थियौँ, तर शिक्षक आन्दोलनका कारण १८ गतेसम्म बिद्यालय बन्द भयो,’ शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले भने, ‘यो अवधिभर जति दिन कक्षा संचालन हुन सकेन त्यति दिन बर्खे बिदा कटाएर कक्षा संचालन गर्छाैँ ।’
यो अवधिभर कुल १४ दिनको पढाइ छुटेको जानकारी गराउँदै उनले थपे, ‘४५ दिनको बर्खे बिदा हो, त्यसमा १४ दिन पढाइ हुने भएपछि यो बर्ष ३१ दिन मात्र बर्खे बिदा हुन्छ ।’ सोही अनुसार शैक्षिक क्यालेण्डर निर्माणको तयारी भइरहेको उनले बताए ।
शिक्षक महासंघ, क्रियाशील शिक्षक संघसंगठन र पालिकाको शिक्षा शाखाको सोमवारको संयुक्त छलफलबाट उक्त निर्णय भएको हो ।
‘यो बर्षको शैक्षिक क्यालेण्डर बनाउन भनेर हिजो हामी संयुक्त रुपमा छलफलमा थियौँ, त्यही बेला उहाँहरु आफैले यो प्रस्ताव ल्याउनुभयो अनि हामीले यसलाई स्वागतयोग्य भनेर स्वीकार ग¥यौँ,’ खनालले भने । यसबारे बिद्यालयका केही प्रधानाध्यापकसँग पनि राय लिइएको र उनीहरुबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले जानकारी गराए । उक्त निर्णयबारे सबै बिद्यालयलाई जानकारी समेत गराइसकिएको बताइएको छ । सोमवारको छलफलले यो बर्षको शैक्षिक कार्यक्रम समेत तयार गरेको पालिका शिक्षा शाखाले जनाएको छ ।




