| आइतवार, अशोज १०, २०८३

आजबाट कक्षा १२ को परीक्षा सुरु, ३७ सय परीक्षार्थी सहभागी

यसवर्षको कक्षा १२ को परीक्षा आज (आईतबार)बाट सुरु भएको छ । कक्षा १२ को परीक्षामा जिल्लाबाट यो वर्ष तीन हजार सातसय ५० जना सहभागी भएका छन् । जसमध्य नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेडबृद्धितर्फ एक हजार दुईसय ५० जना रहेका शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

कक्षा १२ को परीक्षा संचालनका लागि जिल्लाभर १० वटा परीक्षा केन्द्रहरु तोकिएको इकाईको परीक्षा शाखा प्रमुख विश्व प्रकाश रेग्मीले बताए । गोरखा नगरपालिकामा ५, पालुङटार नगरपालिकामा २ र भीमसेनथापा, सिरानचोक र आरुघाट गाउँपालिकामा १–१ वटा परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए ।

‘परीक्षाको सम्पूर्ण तयारीहरु पूरा भइसकेका छन्, यही शुक्रबार मात्र सम्पूर्ण परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गराएका छौँ’, उनले भने, ‘शिक्षक आन्दोलन शान्तिपूर्ण ढङ्गले सहमतिमा आएको छ । अब परीक्षा संचालनमा कुनै समस्या आउँदैन भन्ने आशा छ ।’

इकाईले सहज ढङ्गबाट परीक्षा संचालन गर्न विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग पनि छलफल तथा समन्वय गरेको रेग्मीले जनाए । कोभिड महामारीदेखि नै अनलाइनबाट प्रश्नपत्र व्यवस्था रहेकाले विद्युत तथा इन्टरनेट प्रदायकहरुसँग समन्वय गरेको उनको भनाइ छ । यसअघि शिक्षक आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा संचालन हुन लागेको हो । बिहान ८ बजेबाट सुरु हुने परीक्षा जेठ २ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्